साहित्यिक विमर्शमा नाटकलाई अर्घेल्याइँ !
एक वैरी बुम्मैका सेठ अक्को वैरी रिन
तेर्सो वैरी मयाजाल चौथो वैरी निन ।
दूरदराजको ग्रामीण भेगबाट जीवन गुजाराको लागि गरिबीसँग लड्न कसैलाई बम्बै जानुपर्ने बाध्यात्मक परिस्थितिको चित्रण गरेको छ यो देउडाले । सुन्नका लागि यो सानो गीत भए पनि गम्नका लागि भने यो एउटा कथा हो । गाउँघरमै हलो जोतेर जीवन पाल्न सक्ने अवस्था भएकोभए हाडछाला घोटेर साहुको खप्की खान जानु पर्दैनथ्यो बम्बै । घामपानी नभनेर काममा जोतिदा र रगत पसिना मिसाउँदा पनि साहुले हकार्न छोड्दैन त्यसैले त्यो सेठ वैरी (शत्रु ) नै भयो ।
गर्जो टार्न, घर चलाउन ऋण लिनुपरेको बाध्यता अर्कोतिर छ । साँवामाथि ब्याज र स्याज चढेर झन् चुलिँदै गएको छ, तब अनिवार्य चुक्ता गर्नुपर्ने छ । त्यसकारण टाउको खाने ऋण पनि शत्रु नै हो । कामबाट फुर्सद पाउँदा होस् या नपाउँदा घरको सम्झना आउँछ । मसिना छोराछोरी र जहानको मायाले ब्याकुल बनाउँछ । उत्तरतिर उठेको बादल हेर्दा बरर आँसु पोखिन्छ, त्यसैले ठाडै ज्यान सुकाउने मायाजाल पनि शत्रु रहेछ ।
कामबाट थकित र गलित ज्यानले आराम खोज्छ, राति सुत्नुपर्ने जरुरी हुन्छ । नसुतेर रातभरि काम गर्न पाएको भए कमाईको हिसाब दोब्बर हुने थियो, चाँडै ऋण तिरिने थियो र छोराछोरीलाई छातीमा टाँसेर माया जताउन पाइन्थ्यो । त्यस मानेमा यो अवस्थालाई बाधा हाल्ने निन्द्रा पनि शत्रु नै हो । शत्रु नै शत्रुबाट घेरिएर बाँचेको छ जीवन, माथि उल्लेखित देउडा गीतले यही भन्छ ।
देउडा साहित्यमा पनि गहिरो भेद हुँदोरहेछ तब त भोक–प्यास चटक्क बिर्सेर गीतमा नै तल्लीन हुँदारहेछन् देउडा पारखीहरू । यहाँ देउडाले पछ्याउने लबज खस भाषा नै रहेछ । देउडा साहित्यका लागि कर्णाली मलिलो र उर्वर माटो रहेछ ।
खस भाषाको उद्गमस्थल तथा सिंजा सभ्यताको पहिचानका रूपमा रहेकोे कर्णालीलाई साहित्यिक वैभव बनाउने उद्देश्य राखेर सुर्खेतको वीरेन्द्रनगरमा २०८१ वैशाख ११ गते ‘कर्णाली लिट्रेचर फेस्टिवल’ गरिएको थियो । मेची–महाकालीको नेपाली भूमिमा दर्जनौं भाषा बोलिन्छन् । मातृभाषा बाहेक प्रायः अर्को जात जातिको भाषा बोल्न र बुझ्न कठिनाइ हुन्छ सबैलाई । यस्तो अवस्थामा सबै भाषा र भाषिकालाई जोड्ने एउटा माध्यमको भाषा बनेको हो खस भाषा । सबै सबैले बोल्ने र लेख्ने त्यही माध्यमको भाषा नै देशको राष्ट्र भाषा बन्न पुगेको हो । विगतमा कर्णालीको भूगोल खसान प्रान्तबाट उम्रेको प्यारो खस भाषा, संरक्षण र उन्नयनका लागि ठूलो योगदान पुर्याएको भनी स्व. योगी नरहरीनाथको चर्चा स्रहाना भएको थियो, साहित्यिक महोत्सवमा । विशेषतः कर्णालीबासीका लागि यो ज्यादै महत्व र गौरवको विषय हो ।
सुन्न, बुझ्न र भेउ पाउन लालायित मनहरूलाई घरीघरी तानीरहेका हुन्छन् यस्ता साहित्यिक कार्यक्रमले । आफ्ना वक्तव्य र मन्तव्यमा ताली बजाउनकै लागि केही साहित्यिक मञ्चहरूले सम्झना राखी हामीलाई पनि बोलाइदिने गरेका छन् । कुनै कार्यक्रमसँग भौतिक रूपमा बलियो सम्बन्ध स्थापित हुन नसके पनि भावनात्मक सम्बन्ध भने आफसेआफ जोडिन पुग्दो रहेछ । जस्तो कि यात्रामा कतै मठमन्दिर भेटिँदा नमस्कृत मुद्रामा स्वतः हात जोडेर मन चढाइन्छ । त्यो मन्दिरका पुजारी चिन्दैनौँ, दैनिक फूलप्रसाद चढाइरहने भक्तजन पनि होइनौँ, तथापि आस्था र श्रद्धा आफ्ना ठाउँमा अटल रहन्छ, त्यसरी नै सहित्यमा पनि भर विश्वास रहने गर्दछ । कार्यक्रममा भाषण र वक्तव्यमाथि वक्तव्य भन्दा पनि रचना सिर्जना सुन्न आतुर हुने गर्छन् साहित्यिक मनहरू ।
सुरुवाती प्रचारप्रसारदेखि नै फेस्टिवलले लेखन र पठन संस्कृतिको विकास गर्ने कुरा पनि जोडिरहेको थियो । कुरा मनको भित्तामा यसरी टाँसियो कि यो विषय त सायद हाम्रै लागि गरिएको पो रहेछ भन्ने आभास हुन गयो । तब त्यसले दिल दिमाग एकैचोटि खिचिरहेको थियो । पठन त निरन्तर हुने नै भयो लेखनसँग प्रकाशनको कुरा पनि जोडिन आएको हुँदा त्यसको थोरै चर्चा गर्न मनासिब हुन्छ भन्ने लागेको छ ।
सुर्खेत जिल्लामा खुलेको पहिलो पत्रिकाको नाम हो ‘बुलबुले साप्ताहिक’ । त्यसका सम्पादक थिए स्व. टंकप्रसाद भट्टराई । २०४७ सालमा पहिलो पटक ‘विजय’ शीर्षकबाट पत्रिकामा यो लेखकको कथा छापिएको थियो । त्यतिबेला कथाले केही चर्चा पाएपछि र सम्पादकले फेरि अर्को कथा मागेपछि मनमा मिठो उत्साह भरिएको थियो ।
२०५२/०५३ सालमा कुमारबहादुर ढकालको सम्पादनमा रहेको चर्चित साप्ताहिक ‘जनचासो’ पत्रिकामा माटाको माया शीर्षकबाट अर्को कथा छापिएको थियो । त्यसपछि २०६१ सालदेखि २०६५ सालसम्म निरन्तर सुर्खेतका साप्ताहिक र दैनिक पत्रपत्रिकाहरू जस्तै लोकमञ्च, काँक्रेविहार, बुलबुले, सुर्खेत पोष्ट, नयाँ नेपालमा समेत कथा र विचारहरू छापिदै आएका थिए । फुटकर रूपमा छापिएका ती कथाहरूको संग्रह ‘कसुर’ २०७३ सालमा प्रकाशन भैसकेको छ ।
पछिल्ला दिनमा कथा, केही अनुभूति र विचारहरू प्रायः साझा बिसौनी दैनिकबाट नै प्रकाशित भइरहेका छन् । फुटकर रूपमा प्रकाशित भएका कथाहरूको संग्रह ‘डान्सबार’ पनि २०७९ सालमा प्रकाशन भैसकेको छ । कोही कसैले उत्साह भरेछन् भने पनि कथा लेखिन्छ, कसैले आलोचना नै गरेछन् भने पनि कलम रोकिदैन ।
पठन र लेखनको कुरा गरिरहँदा यहाँ नाटकको प्रसंग उठाउन अनिवार्य देखिएको छ । साहित्यसम्बन्धी विचार–गोष्ठी, छलफल, बहस र चर्चा परिचर्चामा जानाजान हो या अन्जानमा नै हो नाटकको विषय ओझेलमा परिरहेको हुन्छ । जबकि नाटक पनि कथा, कविता र निबन्धजस्तै साहित्यमा मूलधारभन्दा बाहिरको विषय पटक्कै होइन ।
नाटकको विशेषता अलिक भिन्न हुने गर्छ, अन्य रचना सिर्जना जस्तै पाठकले पढेर नाटकको सार्थकता हुँदैन । भनाइको मतलब नाटक लेखाइमा मात्र पूर्ण मानिदैन, त्यसकारण यो विषयलाई साहित्यमा अलि जटिल पनि मानिन्छ किनभने यसले अनेक प्रक्रिया बोकिरहेको हुन्छ । लेखेर तयार भएको नाटकलाई मञ्च चाहिन्छ । प्रस्तुतिका लागि अभिनय चाहिन्छ, अभिनयका लागि नक्कल उतार्ने पात्र चाहिन्छ, अभिनयमा पात्रले प्रयोग गर्ने सामग्रीहरू चाहिन्छ । पात्रले निभाएको भूमिका दर्शकले मञ्चमा प्रत्येक्ष हेरेपछि मात्र त्यो नाटक परिपूर्ण भएको मानिन्छ । ज्ञान, शिक्षा र सन्देश त साहित्यका सबै विधाले दिइरहेका हुन्छन्, त्यसमा पनि नाटकको थप खासियत भन्नु प्रत्येक्ष मनोरञ्जन नै हो । यहाँ नाटक अर्घेलोमा परिरहेको अवस्थामा यसको उन्नयनका लागि रंगकर्मीहरू नै जुरमुराउनुको विकल्प देखिँदैन ।
नाटकसम्बन्धि गतिविधि गर्ने रंगमञ्चीय संस्था कर्णालीमा थुप्रै हुन सक्छन् तर निरन्तर चेष्टा गरिरहेका कारण बागीना समूह र आरंग नेपाल अग्रपंतिमा देखिन्छ । नाटक लेखन, निर्देशन र प्रदर्शनमा २०४८ सालदेखि जोडिएका पात्र समेतले प्रशस्त नाटक तयार पारेका छन् । सुर्खेती माटोका चर्चित तथा वरिष्ठ रंगकर्मी गणेश गौतमको ‘सती कलसा’, विद्वान छविका व्यक्तित्व तथा वरिष्ठ रंगकर्मी गोविन्द कोइरालाको ‘दागबत्ती’ र यो लेखकको ‘मौनधारण’ अधिकतम चर्चित नाटकहरू हुन् ।
द्वन्द्वकालिन मुद्दा उठाएको ‘मौनधारण’ २०५८ सालमा महेन्द्रनगरमा प्रस्तुत गरिँदा आयोजकले द्वन्द्वको दृश्यलाई हटाउन दिएको दबाब सम्बन्धित रंगकर्मीहरूको सम्झनामा ताजै छ । त्यसपछि मौन धारणले कतै दोहोरिने अवसर भेटाएको छैन । २०६१ सालमा प्रज्ञा भवनमा प्रथम प्रदर्शन भएको थियो भावविह्वल पार्ने सफल नाटक दागबत्ती । त्यसपछि विभिन्न समय कालमा सुर्खेत, बुटवल र हेटौंडामा पनि प्रस्तुत भएको थियो । सबैभन्दा उच्च सफलताको ऐतिहासिक नाटक हो सती कलसा । दर्शकको मन विदिर्ण बनाउने यो सती कलसा २०६४ सालमा पुरानो बानेश्वरको गुरुकुलमा प्रदर्शन गरिएको थियो । प्रज्ञा भवन, नाचघर हुँदै सुर्खेत दैलेख र नेपालगञ्जमा पनि नाटकले गहिरो छाप छोडेको थियो । लेखाजोखा र मूल्यांकनबाट पर्गेलिए पनि यी कालजयी नाटकहरूको ओज र गरिमा समय जकाल खण्डमा यथावत कायम रहने छन् ।
ठाँउठाउँमा प्रायः पाण्डुलिपिबाट तयार पारिएका नाटकहरू नै मञ्चन हुने गर्छन् । नाटकको किताब प्रकाशन गर्ने व्यक्तिहरू कर्णालीमा सायदै होलान्, कति छन्, त्यो यथार्थ जानकारी छैन । तर पाण्डुलिपि संग्रह गरेर २०७० सालमा गणेश गौतमको ‘युगारम्भ’ नामको नाटक प्रकाशन भैसकेको छ । विभिन्न समय क्रममा तयार पारेर मञ्चन गरिएका १२ वटा नाटक युगारम्भमा अटाएका छन् ।
कथा, कविता, निबन्ध, उपन्यास इत्यादीको दाँजामा अत्यन्त थोरै प्रकाशन भएका छन् नाटक । पठनको लागि नाटक पाठकको रोजाइमा नपर्ने कारणबारे माथि नै उल्लेख भइसकेको छ । कसैले नाटक प्रकाशनको आँट गर्न नसकिरहेको अवस्थामा गौतमको हिम्मतलाई नजरअन्दाज गर्न मिल्दैन । नाटक लेखन र निर्देशनमा लामो अनुभव आर्जन गरेका गौतमको अनुकरणीय कामलाई आज कसैले प्रशंसाका शब्दावली खर्च गरे पनि नगरे पनि रंगमञ्चमा लाग्ने भोलिका पिढीलाई ऐतिहासिक युगारम्भ एउटा महत्वपूर्ण दस्तावेज बन्नसक्छ ।
हजारौं माइल यात्राको लागि पहिलो कदम उठाउनै पर्छ र त्यो पहिलो कदम भनेकै विचार, बहस र छलफल हो भन्ने गरिन्छ घरीघरी । परार साल पहिलो पाइलाको लागि छलफल भयो परिणाम के आयो ! पोहोर साल बहस भयो सफलता कता हरायो ! यो साल र आउने साल सधैँसधैँ के पहिलो पाइला मात्रै उठाइ रहने ? गन्तव्यमा पुग्न नपर्ने ? यो पहिलो पाइला असफल राजनीतिको फलाको बन्न पुगेको छ समाजमा । कसैको चित्त नदुखोस् साहित्य कर्मले पनि त्यही फलाको दोहो¥याउनु भनेको त्यतैतिरको यात्रा प्रारम्भ हो कि भन्ने शंका पस्छ मनमा । साहित्य अक्षुण्ण रहँदै बलियो विश्वास आर्जन गर्न सकोस् भन्ने पवित्र चाहना देखिन्छ सबैको ।
साहित्यका आँगनमा भाव, भावना र विचार व्यक्त गर्न सिर्जना र रचना तयार पार्न लेख्न जरुरी छ । लेख्नका लागि जान्न बुझ्न पनि उत्तिकै जरुरी हुन्छ तब त पढ्नु आवश्यकता छ । त्यसकारण पढाइ लेखाइ आपसका परिपूरक हुन् । यहाँ यसो भनिरहँदा बजारमा आएका सबै पुस्तक पढ्नैपर्छ भन्ने होइन । लेखन शैली–सामग्री, तत्व–महत्व, रुचि सबै केलाएर किताब छनौट गर्न पाठक स्वतन्त्र हुनुपर्छ । सबै पुस्तक पढेर भ्याइदैन, साध्य पनि लाग्न सक्दैन । रोजाइ–खोजाइको पुस्तकसँग पाठकलाई चीरकाल जोड्न साहित्यको चिन्तन, मनन गर्ने असल व्यक्ति संघ–संस्थाले प्रचारप्रसार भन्दा पनि समय र प्रविधि अनुसार किताब लेखन, प्रकाशन र पठनका लागि ठोस आधार फेला पार्न सकेको भए गजब हुने थियो ।
– उमालाल आचार्य
प्रकाशित मितिः १५ बैशाख २०८१, शनिबार ०५:०४
उमालाल आचार्य ।