उपकुलपतिमा तीन जनाको नाम सिफारिस

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । पूर्वउपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसहित प्रा.डा. धुव्रकुमार गौतम र देवबहादुर खड्का सिफारिस भएका हुन् । गौतम त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक हुन् भने, खड्का पूर्वडिन हुन् ।

उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिस गरेको हो । विज्ञहरूबाट प्रतिस्पर्धीको मूल्यांकन गरिएको समितिले जनाएको छ । उपकुलपतिमा १० जनाले आवेदन दिएका थिए ।

शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल समिति सदस्य थिए । सिफारिस गरेमध्ये एक जनालाई प्रधानमन्त्री तथा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । सिंहको कार्यकाल सकिएपछि मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छ ।

प्रकाशित मितिः   ८ बैशाख २०८१, शनिबार ०५:०१