वैदेशिक रोजगारीको दुखान्त: धन कमाउन विदेसिए, फर्किन पाएनन्

सुर्खेत: गत कार्तिक १७ गते भारतमा दुर्घटनामा परेर सुर्खेतको चौकुनेका एकै परिवारका पाँच जनाको मृत्यु भयो । रोजगारीको सिलसिलामा कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो । चौकुने गाउँपालिका–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता, छोराहरू पाँच वर्षीय मिलन, दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवारको मृत्यु भएको हो ।

यस्तै, गत पुस २० गते भारतमै भएको सडक दुर्घटनामा दैलेखको दुल्लू नगरपालिका १० का एकै परिवारका दुई जनाको मृत्यु भयो । दुर्घटनामा मैना विक र उनका छोरा दिनेश विकको मृत्यु भएको हो । उनीहरू पनि रोजगारीका लागि भारतको गुजरात पुगेका थिए ।

यसरी वैदेशिक रोजगारीमा गएका नागरिकको ज्यान गुमाउने संख्या बढ्दो छ । रोजगारीका लागि विदेश गएकाहरूले अकालमा जीवन गुमाउनु परिरहेको छ । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षमा कर्णालीका ३५ जनाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका छन् । यो संख्या बोर्डबाट मृतकको परिवारले क्षतिपूर्ति लिएकाका हो । बोर्डका प्रवक्ता टिकाराम ढकालले भने, ‘श्रम स्वीकृति नलिइ विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक कार्यालयले राख्दैन । यो तथ्यांक श्रम स्वीकृति लिएकाको हो । यो वर्षको हालसम्म कर्णालीका ३५ जनाले विदेशमा ज्यान गुमाएका छन् ।’

सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा ग¥यो । तर, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालबाट लाखौँ कामदार विदेश जान बाध्य छन् । कर्णालीका धेरै जसो नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् । तर वैदेशिक रोजगार बोर्डमा उनीहरूको तथ्यांक छैन । कर्णाली प्रदेशका ६० प्रतिशत युवा रोजगारीका लागि भारत र तेस्रो मुलुकमा जाने गरेका छन् । त्यसमध्ये धेरैजसो परिवारसहित भारतमा रोजगारीका लागि जाने गरेका छन् । भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई वैदेशिक रोजगारीको मान्यता नदिएकाले उनीहरूले सरकारको तर्फबाट कुनैपनि राहत पाएका छैनन् । ज्यान गुमाएका आफन्तहरूले सरकारबाट राहत पाउनुपर्ने माग गरिरहेका छन् ।

 

दुई हजारले लिए श्रम स्वीकृति

कर्णाली प्रदेशबाट चालु आर्थिक वर्षमा दुई हजार तीन सय ४३ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या अनलाइनको माध्यमबाट श्रम स्वीकृति लिनेहरूको हो । वि.सं. २०७५ माघदेखि श्रम तथा रोजगार कार्यालय स्थापना गरी सुुर्खेतबाटै श्रम स्वीकृतिको सेवा दिइँदै आएको छ । पछिल्लो समय अनलाइन माध्यमबाट श्रम स्वीकृति सेवा दिन थालिएपछि कार्यालयमै आएर सेवा लिनेको संख्या घटेको छ ।

यसैगरी कार्यालयबाट पुनःश्रम स्वीकृति लिनेको संख्या धेरै छ । यो वर्ष श्रम तथा रोजगार कार्यालय सुुर्खेतबाट तीन हजार पाँच सय ११ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको चैतसम्म दुई हजार तीन सय ४३ जनाले श्रम स्वीकृति लिएको कार्यालयका निमित्त श्रम अधिकृत सम्शेर रानामगरले बताए । उनले भने, ‘एक पटक विदेशमा रोजगारी गरेर आएका र फेरि जान चाहेकाहरूलाई श्रम स्वीकृति दिँदै आएका छौँ ।’

सहजताका लागि पछिल्लो समय श्रम स्वीकृति अनलाइन माध्यमबाट लिने व्यवस्था गरिएको छ । रानामगरले हाल सबैजसोले अनलाइनबाटै सेवा लिइरहेको जनाए । ‘बायोमेट्रिक नभएका व्यक्तिहरू मात्र कार्यालयमा आएर सेवा लिनुपर्ने हुन्छ, अरुले अनलाइनबाट स्वीकृति लिने गर्नुभएको छ,’ उनले भने ।

प्रकाशित मितिः   ६ बैशाख २०८१, बिहीबार ०५:०५