महिनावारी स्वच्छता: सरकार लगानी बढाउँदै, किशोरी समस्या झेल्दै

सुर्खेत: कालीकोटको शुभकालिका गाउँपालिका वडा नं. ६ मा रहेको चन्द्रसुर्य माध्यमिक विद्यालयमा अध्ययनरत यामुना आचार्यको महिनावारीको समयमा कहिलेकाहीँ पेट दुख्छ । यामुना मात्र होइन उनका अन्य केही साथीकोसमेत महिनावारीका समयमा पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छन् तर उनीहरू सहेर बस्छन् ।

विद्यालयमा आराम कक्ष छैन । आराम कक्ष भएको भए विद्यालयमै आराम गरेर पुनः कक्षामा सहभागी हुन पाउथे । उनीहरूका समस्या विद्यालय प्रशासनसम्म पुगेको भएपनि सानासाना समस्या समाधान नभएको आचार्यको भनाइ छ । विद्यालयमा महिनावारी भएका समयमा सेनेटरी प्याड निःशुल्क दिइन्छ, महिनावारी स्वच्छताका लागि शौचालय, पानी र प्याड डिस्पोज गर्ने ठाउँको राम्रै व्यवस्था छ । ‘सबै कुराको व्यवस्था भएपनि हात धुने ठाउँमा नियमित साबुन हुँदैन, साबुन भएपनि साथीहरूले प्रयोग गर्दैनन्’, किशोरी यामुनाले भनिन्, ‘धेरैले प्रयोग गरेको हुनसक्ने भन्दै साथीहरूले साबुन भएपनि प्रयोग गर्दैनन्, कसैले महिनावारी समयमा घरबाटै व्यक्तिगत साबुन बोकेर आएका हुन्छन् ।’

शुभकालिकाकै वडा नं. ७ मा रहेको पञ्चकालिका माध्यमिक विद्यालयमा अध्ययनरत प्रमिता भट्टराई महिनावारीको समयमा कतै रगत बाहिर देखिन्छ कि भन्ने तनावमा बित्ने गरेको बताउँछिन् । ‘विद्यालयले महिनामा एक दिन प्याड दिन्छ, विद्यालयमै महिनावारी भए प्याड माग्नु भनेको छ । प्याड दिने शिक्षिका तोकिएको छ तर साथी अझै माग्न लाज मान्छन्’, प्रमिता भन्छिन्, ‘धेरै साथीलाई प्याड प्रयोग गर्ने तरिका थाहा छैन । घरमा रहेका लुगाफाटा प्रयोग गर्ने गरेका साथीलाई प्याड प्रयोग गर्ने तरिकासमेत सिकाउन आवश्यक छ ।’ उनको विद्यालयमा महिनावारी भएर किशोरीले प्याड मागेपछि मात्रै दिने व्यवस्था छ । धेरै किशोरी शिक्षकसँग प्याड माग्न सक्दैनन् । किशोरीले कक्षाकै एक जना किशोरीलाई प्याड वितरणको जिम्मा दिनुपर्ने माग गरेका छन् । ‘प्याड वितरणको जिम्मा कक्षाकै एक जना किशोरीलाई दिएको भए सजिलो हुन्थ्यो, महिनावारी भए प्याड दिनुस् भनेर विद्यालयमा अझै भन्न सक्दैनन्, साथै धेरैले प्याड प्रयोग गर्न पनि जानेका छैनन्’, प्रमिता भन्छिन्, ‘हरेक महिनामा एक दिन किशोरीलाई पहिल्यै प्याड वितरण गर्ने, प्रयोग गर्ने तरिका, डिस्पोज गर्ने तरिका सिकाउन जरुरी छ । स्थानीय सरकारले प्याड दिएको छ तर अझै साथीले पुराना लुगाफाटा प्रयोग गरिरहेका छन् ।’

सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै बालिका विपन्न समुदायका छन् । विपन्न समुदायका बालिकाले प्याड किनेर प्रयोग गर्ने अवस्था छैन । अधिकांश बालिकाले महिनावारीका समयमा प्रयोग गरिसकेका लुगाफाँटा प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सेनेटरी प्याड वितरण गर्ने गरिएको भएपनि व्यवस्थापनमा चुनौती बनेको छ । विद्यालयमा प्रयोग गरिसकेका प्याड खोला खाल्सामा फाल्ने गरिएको छ ।

यसैबीच कालीकोटका ६ वटा सामुदायिक विद्यालयमा आधारभूत स्वास्थ्य सर्वेक्षण गरिएको छ । विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन र खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी सूचकका आधारमा आधारभूत स्वास्थ्य सर्वेक्षण गरिएको हो । प्लान इन्टरनेशनल नेपालको अनुगमन मूल्यांकन, अनुसन्धान तथा सिकाइ विभागले सर्वेक्षण गरेको हो । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाका पाँच र नरहरीनाथ गाउँपालिकाको एउटा गरी ६ वटा सामुदायिक विद्यालयमा सर्वेक्षण गरिएको छ ।

६ सामुदायिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीहरूमा सूचकका आधारमा सर्वेक्षण गरिएको प्लान इन्टरनेशनल नेपालका सर्वेक्षक टोलीका संयोजक हेमप्रसाद घिमिरेले बताए । उनका अनुसार २०७९ वैशाखमा ६ सामुदायिक विद्यालयमा सर्वेक्षण गरिएको हो । जसमा एक सय चार जना छात्रा र ५० जना छात्र रहेका थिए । गरिएको सर्वेक्षणको तथ्यांकले बालबालिका सहज सेवाको पहुँचमा नरहेको देखाएको छ । विद्यालयमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशत बालिकाले महिनावारीसम्बन्धी ज्ञान नभएको बताएका छन् । महिनावारीसम्बन्धी प्रश्न र छलफलमा अधिकांश बालकहरूले यस विषयमा कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

६७ प्रतिशत बालिकाले बालिकाका लागि छुट्टै शौचालय नभएको र ९१ प्रतिशतले सरसफाइको अभाव रहेको बताएका थिए । यसैगरी ८७ प्रतिशत बालिकाहरूले शौचालयमा नियमित पानी नआउने बताएका छन् । ७४ प्रतिशत बालिकाहरूले विद्यालयहरूमा छुट्टै हातधुने स्टेशनहरूमा पानी प्रवाह नभएको जनाएका छन् भने ९१ प्रतिशतले साबुन नहुने गरेको जनाएका छन् । गरिएको सर्वेक्षणमा ८८ प्रतिशत बालिकाहरूले विद्यालयमा सेनेटरी प्याड नपाएको र विश्राम कोठा नभएको जनाएका छन् । यस्तै ८३ प्रतिशत बालिकाहरूले सेनेटरी प्याड डिस्पोजल सुविधा नभएको बताएका छन् ।

विद्यालयमा गरिएको आधारभूत स्वास्थ्य सर्वेक्षणमा ६४ प्रतिशत बालबालिकाले पिउने पानी सिधै पाइपबाट खाने गरेको जनाएका छन् । ५० प्रतिशतले पिउने पानी अपर्याप्त रहेको, ५७ प्रतिशत बालबालिकाले पिउने पानी सबै उमेर समूहको बालबालिकाको पहुँचमा नरहेको प्रतिक्रिया दिएका छन् ।

 

प्रकाशित मितिः   ५ बैशाख २०८१, बुधबार ११:११