बन्द भएका दुई वटा विभाग सञ्चालनमा

सुर्खेत: तीन सातादेखि बन्द रहेका कर्णाली प्रदेश अस्पतालका दुई वटा विभाग सञ्चालनमा आएका छन् । चिकित्सक नहुँदा विभाग बन्द भएका थिए ।

कार्यरत चिकित्सक सरूवा भएर गएपछि पनि केन्द्रबाट खटाइएको विशेषज्ञ डाक्टर नआएकाले केही दिन विभाग नै बन्द गर्नुपरेको प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले बताए । उनका अनुसार विभागमा तीन वर्ष काम गरेका विशेषज्ञ डाक्टरहरू सरूवा भएर गएपछि मुटुरोग विभाग तीन हप्ता बन्द भएको थियो ।

न्यूरोसर्जरी विभाग भने एक हप्ता मात्र बन्द गर्नुपरेको खड्काले बताए । केही दिनअघि स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरहरू अस्पताल आएकाले दुवै विभागका सेवा पुनः सुरू गरिएको प्राध्यापक डा. खड्काले बताए । ‘डाक्टरहरू यहाँ हाजिर गर्न ढिला गर्नुभएको थियो, उहाँहरू आइसकेपछि हामीले दुवै विभागका सेवा खुला गरेका छौं,’ उनले भने ।

अहिले न्युरोसर्जन विभागमा डा. ओमविक्रम शाह र मुटुरोग विभागमा डा. सुतप यादव आएका छन् । प्रदेश अस्पतालमा तीन वर्षदेखि काम गर्दै आएका न्यूरोसर्जन डा. निलम खड्का काज सरूवा भएर ट्रमा अस्पताल काठमाडौं फर्किएपछि उक्त विभाग खाली भएको थियो ।

प्रकाशित मितिः   २६ चैत्र २०८०, सोमबार १०:३६