चार नगरपालिकामा कार्यकारी अधिकृत नियुक्त

सुर्खेत, ५ चैत ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकामा कार्यकारी अधिकृत तोकेको छ । जस अन्तर्गत सुर्खेतका चार वटा नगरपालिकाले कार्यकारी अधिकृत पाएका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा प्रेमप्रसाद देवकोटालाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत थिए । यस्तै गुर्भाकोट नगरपालिकामा कार्यकारी अधिकृतको जिम्मेवारी पाएका टेकबहादुर खत्री यसअघि सुभाघाट नगरपालिकाको कार्यकारी अधिकृत थिए । पञ्चपुरी नगरपालिकामा नियुक्त कृष्णप्रसाद पन्त यसअघि पनि सुर्खेतमै गाविस सचिवको रूपमा कार्यरत थिए भने लेकवेशी नगरपालिकामा जिम्मेवारी पाएका रामप्रसाद शर्मा यसअघि भेरीगंगा नगरपालिकामा थिए ।
मन्त्रालयले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनमा आवश्यक सहयोग गर्नका लागि तत्काल आफ्नो तोकिएको जिम्मेवारीमा हाजिर हुन निर्देशन समेत दिएको छ ।
कसैले ढिलासुस्ती गरेर तोकिएको समयमा हाजिर नभए निर्वाचन आचारसंहिता अनुसार कारबाही हुने समेत जनाइएको छ । संघीयता र संविधानको कार्यान्वयन अन्तर्गत स्थानीय तह कार्यान्वयनमा ल्याइएपछि सुर्खेतमा पाँच वटा नगरपालिका बनेका छन् ।