शर्माको बहिर्गमन, भित्रिदै कँडेल

सुर्खेत: मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधवार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । सभाबाट राजीनामा घोषणा गरेका उनले लगत्तै प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका थिए ।

शर्माले करिब १५ महिना कर्णाली प्रदेश सरकारको नेतृत्व गरे । २०७९ पुस २७ मा उनी प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन अवस्थामा माओवादीसहित नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

यसबीचमा उनले तीन पटक प्रदेशसभाबाट विश्वासको मत लिनुप¥यो । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक प्रावधानअनुसार माघ ६ गते विश्वासको मत लिएका उनले सत्तासाझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत १७ गते दोस्रो पटक विश्वासको मत लिए । त्यसपछि अर्को साझेदार दल नेकपा (एमाले)ले सरकारबाट बाहिरिएपछि गत वैशाख १५ गते तेस्रो पटक विश्वासको मत लिएका थिए ।

पछिल्लो पटक नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि चौथो पटक विश्वासको मत लिने तयारी गरिसकेका शर्माले अन्ततः बुधवार पदबाटै राजीनामा दिएका छन् । नयाँ समीकरण अनुसार प्रदेश सरकारको नेतृत्व एमालेलाई दिनुपर्ने भएपछि उनले राजीनामा दिएका हुन् । यद्यपि, उनी राजीनामाका लागि सजिलै तयार भने भएनन् । केन्द्रीय गठबन्धनले कर्णालीको नेतृत्व एमालेको भागमा पारेपछि पनि शर्मा जसरी हुन्छ, संसदबाट विश्वासको मत लिएरै छाड्ने अडानमा रहेका थिए । त्यसका लागि उनले आइतवार नै विश्वासको मतका लागि प्रदेश सभामा पत्र दर्ता गराइसकेका थिए ।

राजीनामा दिनुअघि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले यो छोटो अवधिमा पनि अधिकतम् काम गर्ने प्रयास गरेको बताए । विकास, सुशासन प्रवद्र्धन र रूपान्तरणमा योग्दान पु¥याएको दाबी गरे । जाजरकोट भूकम्पमा सरकार भएको अनुभूति दिनेगरी काम गरेको, उद्धार, राहत र पुनस्र्थापनाका काम तत्काल अघि बढाएको उनको भनाइ छ ।

सरकारको नेतृत्वबाट शर्मा बाहिरिएसँगै अब नेकपा(एमाले) संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री हुने भएका छन् । यसअघि सत्ता गठबन्धनमा आएको फेरबदलकै कारण सरकारको नेतृत्व गर्न नपाएको कँडेलले यसपटकको फेरबदलबाट भने उक्त अवसर पाउने भएका हुन् ।

कर्णालीमा एमालेले पहिलो पटक सरकारको नेतृत्व गर्दैछ । यसअघि दुई पटक माओवादी केन्द्र र एकपटक नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् । एमालेले नेतृत्व नपाउँदा संघीय सरकारमा समेत मन्त्री भइसकेका कँडेल मुख्यमन्त्री हुनबाट वञ्चित हुँदै आएका थिए । संघीय सरकारको मन्त्री रहिसकेका कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले पहिलो कार्यकालमा नै प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।

अब कँडेलकै नेतृत्वमा नयाँ समीकरणअनुसार कर्णालीमा तीन दलिय सरकार गठन हुनेछ । नयाँ समीकरण अनुसार नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १० र एकीकृत समाजवादीका एकसहित २४ सांसद उक्त गठबन्धनसँग छन् ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइँले गठबन्धन सरकारको नेतृत्व यामलाल कँडेलले गर्ने बताए । उनले यसअघि एमालेले सरकारको नेतृत्व गर्ने अवसर नपाएपनि यसपटक पाएको भन्दै सबैलाई समेटेर सरकार सञ्चालन गरिने जनाए । उनका अनुसार एमाले, माओवादी र एकीकृत समाजवादी सहितको नयाँ सरकार गठन हुनेछ । ‘कुन मन्त्रालय कस्को हुने भन्ने विषय विस्तारै टुँगो लाग्दै जान्छ’ पछाइँले भने ।

यसैबीच नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दलहरूलाई आह्वान गरेका छन् । बुधवार नै उनले सात दिनको समय दिएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्न अनुरोध गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई चैत २७ गते साँझ ५ः५० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको हो ।

प्रकाशित मितिः   २२ चैत्र २०८०, बिहीबार ०९:३३