मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेसम्बन्धी पत्र आइतवार प्रदेशसभा सचिवालयमा पठाइएको छ ।

पत्रअनुसार मंगलवार विश्वासको मत लिने जनाइएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले मंगलवार विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा नयाँ सत्ता समीकरण बनेपनि प्रदेशको भागबण्डा टुँगिएको छैन । यद्यपि, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन् ।

कर्णालीमा माओवादीले अहिलेकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने अडान राखेको छ भने एमालेले पनि सरकारको नेतृत्व दाबी गरेको छ । तर केन्द्रीय नेतृत्वबीच भागबन्डाको टुँगो लाग्न सकेको छैन ।

प्रदेश सरकार भागबन्डाका लागि आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुँगिएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भ¥याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएसँगै बैठक अनिर्णीत बनेको हो ।

नेपालले सात प्रदेशमध्ये एकमा नेतृत्व दिनुपर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भागबन्डा हुनुपर्ने र आफूलाई बाइपास गरेर यसअघि गरेका निर्णयप्रति पश्चाताप गर्नुपर्ने अडान राखेका छन् ।

 

 

प्रकाशित मितिः   १९ चैत्र २०८०, सोमबार ०५:०१