एमाले सुर्खेतको अधिवेशनः नेतृत्व छान्न निर्वाचन

सुर्खेत: नेकपा (एमाले) सुर्खेतको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । शुक्रवारदेखि सुरु नवौं जिल्ला अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि निर्वाचन हुने भएको हो ।

निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता गरिएको छ । जिल्ला कमिटीको अध्यक्ष पदका लागि अमृतबहादुर बिसी र कुलमणी देवकोटाबीच प्रतिस्पर्धा हुँदैछ । बिसी निवर्तमान अध्यक्ष पनि हुन् भने देवकोटा उनकै नेतृत्वको जिल्ला कमिटीमा उपाध्यक्ष थिए ।

दुवै समूह आ–आफ्नो प्यानलसहित चुनावमा होमिएका छन् । बिसी नेतृत्वको समूहबाट उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा, उपसचिव(खुला)मा हरि अधिकारी र महिला उपसचिवमा तृप्ती विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी देवकोटाको प्यानलबाट उपाध्यक्षमा मोहन बडुवाल छन् भने सचिवमा डम्मर तिवारी, उपसचिवमा टिकाराम सोमै र सुशीला विश्वकर्मा उम्मेदवार छन् । त्यसबाहेक सदस्य पदका लागि पनि दुवै समूहबाट उम्मेदवारी मनोनयन दर्ता गरिएको छ ।

विगतकै दुई गुटले यसपटक पनि निरन्तरता पाएका छन् । सुर्खेतमा एमाले नेता यामलाल कँडेल र इतरसमूहका रूपमा दुई वटा गुट बन्ने गरेका छन् । आठौं जिल्ला अधिवेशनबाट कँडेल पक्षधर मानिने समूह विजयी भएको थियो । यद्यपि अहिले इतर समूहबाट उम्मेदवार बनेका बिसी अघिल्लो अधिवेशनमा भने कँडेल समूहमा थिए । यसपटक उक्त समूहले अध्यक्षको उम्मेदवार नबनाउने देखिएपनि उनले गुट परिवर्तन गरेका छन् । इतरसमूहबाट गत निर्वाचनमा डण्डिप्रसाद शर्मा अध्यक्षका प्रत्यासी थिए । तर यसपटक उनी बिसीलाई अध्यक्षमा सघाउँदै सचिव पदको उम्मेदवार बनेका छन् । नेताहरू फेरबदल भएपनि दुई वटा गुटले भने निरन्तरता पाएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार आइतवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएपश्चात् नै मतगणना गरिने जनाइएको छ ।

प्रकाशित मितिः   ११ चैत्र २०८०, आईतवार ०८:२८