विपन्न नागरिकका लागि अतिथि सेवा गृह बनाइँदै

सुर्खेत: वीरेन्द्रनगरमा नागरिक अतिथि सेवा गृह निर्माण थालिएको छ । दुर्गमका नागरिकलाई उपचार र अन्य कामका लागि वीरेन्द्रनगर आउन खर्चिलो हुनेभएकाले उनीहरूको सहजताका लागि अतिथि सेवा गृह निर्माण गर्न लागिएको हो ।

भौगोलिक विकटता र आर्थिक अभावमा प्रदेश राजधानीको बसाइ उनीहरूका लागि महँगो पर्ने गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले वीरेन्द्रनगरमा नागरिक अतिथि सेवा गृह निर्माण सुरु गरेको हो । वीरेन्द्रनगरमा ठूलो क्षमताको नागरिक अतिथि सेवा गृह निर्माणको काम थालिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर–६ स्थित राम मन्दिर परिसरमा उक्त भवन निर्माण भइरहेको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले बताइन् । उनका अनुसार अहिले अतिथि सेवा गृहको भवन निर्माणको काम धमाधम भइरहेको छ । आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालयमार्फत् कार्यान्वयन गर्नेगरी भवन निर्माणको काम अघि बढाएको हो ।

 

राजधानीमा आउने दुर्गमका नागरिकलाई सस्तो र सहज रूपले बास दिनेगरी ‘नागरिक अतिथि सेवा गृह’ निर्माण थालिएको हो । उक्त अथिति गृहमा मुख्यगरी उपचारका लागि दुर्गम जिल्लाबाट आएका बिरामी र अन्य नागरिकले सस्तो दरमा बास बस्न पाउनेछन् ।

 

भवन निर्माणका लागि २०७९ चैत ३ गते ठेक्का सम्झौता गरी काम अघि बढाइएको थियो । दुई करोडमा २०८० असार १५ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको हो । अहिले ६ महिनाको म्याद थप गरेर भवन निर्माण कार्य भइरहेको निर्देशनालयका इन्जिनियर हिमाल रावतले बताए । भवन निर्माणको करिब ७० प्रतिशत काम सकिएको छ ।

भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको हो । नगरपालिकाले डीपीआर निर्माणका लागि ११ लाख ७९ हजार रूपैयाँ खर्चिएको नगर उपप्रमुख निलकण्ठ खनालले बताए । अतिथि गृह प्रदेशका विभिन्न जिल्लाबाट उपचार गर्न आउने तथा अन्य कामको सिलसिलामा प्रदेश राजधानी झर्ने नागरिकको बसाइँको सहजताका लागि निर्माण गर्न लागिएको खनालको भनाइ छ । भवनमा १७ वटा कोठा र एउटा कोठामा चार जना बस्न मिल्नेगरी निर्माण थालिएको हो । अतिथि सेवा गृहमा एउटा सुविधासम्पन्न सभाहल पनि निर्माण गरिने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

भौगोलिक विकटता, यातायातको सहज पहुँच नहुनु र गाउँमै भरपर्दो उपचार सेवा नभएकै कारण हुम्ला, डोल्पा, मुगुु, कालिकोट र जुम्लाका नागरिक वीरेन्द्रनगर आउने गरेका छन् । यसका लागि उनीहरूले समय र पैसा दुवै खर्चिनुपर्ने अवस्था छ । जेनतेन प्रदेश राजधानी झरेपनि उनीहरूको वीरेन्द्रनगरबसाइ महँगो छ । तर आर्थिक रूपमा विपन्न नागरिकलाई वीरेन्द्रनगरमा बस्न र औषधि उपचार गर्नै मुश्किल हुन्छ । प्रदेश सरकारले राजधानीमा आउने दुर्गमका नागरिकलाई सस्तो र सहज रूपले बास दिनेगरी ‘नागरिक अतिथि सेवा गृह’ निर्माण थालेको हो । उक्त अथिति गृहमा मुख्यगरी उपचारका लागि दुर्गम जिल्लाबाट आएका विरामी र अन्य नागरिकले सस्तो दरमा बास बस्न पाउनेछन् ।

भवन निर्माणको काम सकिए लगत्तै नागरिक अतिथि सेवा गृह सञ्चालनमा ल्याइने निर्देशक हमाल बताउँछिन् । भवन निर्माण भइ सञ्चालनमा आए महँगो पैसा तिरेर होटलमा बास बस्नुुपर्ने समस्याको अन्त्य हुुने उनको भनाइ छ । ‘प्रदेश राजधानीमा आउने जोकोही अतिथिहरूको लागि सुरक्षित र व्यवस्थित बसाइँको प्रबन्ध गर्न आवास निर्माण गर्न लागिएको हो,’ हमालले भनिन्, ‘अहिले भवन निर्माणको काम धमाधम भइरहेको छ । भवन निर्माण भइसकेपछि कार्यविधि बनाएर नागरिक अतिथि सेवा गृह सञ्चालन गर्ने तयारी छ ।’ सो गृहमा सशुल्क र निःशुुल्क पनि आवास सुविधा दिने व्यवस्था गरिनेछ । नागरिक अतिथि सेवा गृहका लागि कर्णाली सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा पनि बजेट विनियोजन गरेको थियो । उक्त वर्ष पाँच करोड विनियोजन गरिएपनि बजेट कार्यान्वयन भने भएको थिएन ।

प्रकाशित मितिः   ११ चैत्र २०८०, आईतवार ०५:०५