सुर्खेतमा दोस्रो क्रिकेट मैदान
सुर्खेत: सुर्खेतमा क्रिकेटको अर्को मैदान बनाइने भएको छ । वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फ क्रिकेट मैदान बनाउन लागिएको हो । मुख्यमन्त्री राजकुमार शर्माले बुधवार मैदानको शिलान्यास गरेका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले इन्डोर र आउटडोर पिचसहितको मैदान निर्माण गर्न लागेको हो । मैदान निर्माणमा चार करोड ५९ लाख खर्च हुने जनाइएको छ । मैदानसँगै देउडा पार्कसमेत बनाइनेछ । उक्त स्थानमा हरेक महिनाको १ र १५ गते देउडा मेला लाग्ने गरेको छ । त्यसैले देउडा संस्कृतिको संरक्षणका लागि क्रिकेट मैदान सँगसँगै देउडा पार्क बनाउन लागिएको हो ।
आगामी वर्ष आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर क्रिकेट मैदान तयार गर्न लागिएको कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । यो मैदान बनेपछि वीरेन्द्रनगरमा दुई वटा क्रिकेट मैदान हुनेछन् । अहिले कालिञ्चोकमा समेत क्रिकेट मैदान निर्माण भइरहेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परियोजनामार्फत कार्यन्वयनमा आउने यो मैदान निर्माणको जिम्मा अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । सम्झौताअनुसार २०८१ को असार २५ गतेभित्रै निर्माण सम्पन्न हुनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्नु कर्णालीका लागि गौरवको विषय भएको बताए । त्यसका लागि सम्पूर्ण तयारी गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । मुख्यमन्त्री शर्माले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा खेलकुदका आवश्यक योजनाहरू समेटिने जानकारी पनि दिए ।
प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार ०५:०१
साझा बिसौनी ।