जुम्ला–रारा अल्ट्राम्याराथन वैशाखमा

जुम्ला: जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली खेलकुद क्लबले वैशाख १ गते ४९ किलोमिटर लामो दूरीको म्याराथन आयोजना गरेको हो ।

पर्यटन र पदमार्गको प्रवद्र्धन गर्न म्याराथन आयोजना गर्न लागिएको जनाइएको छ । खेल क्षेत्रमा कर्णालीले सम्भावना बोकेको क्षेत्र म्याराथन पनि भएकाले उक्त खेलमार्फत् कर्णालीलाई चिनाउने उद्देश्य आयोजकको छ ।

पाँचौँ संस्करणको प्रतियोगितामा एकहजार खेलाडी सहभागी गराउने लक्ष्य राखिएको छ । क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिए । यसअघि २०७५ मा पहिलो संस्करणको आयोजना गरिएको थियो । त्यसयता लगातार म्यारागथन भइरहेको छ ।

जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ भैरवनाथको आगनबाट सुरु हुने म्याराथन डाँफे लेक, चुच्चेमारा लेक हुँदै मुगुको राराताल छेउमा समापन हुनेछ । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडीले विगतका प्रतियोगितामा पाँचदेखि सात घण्टामा पार गरेका छन् ।

आयोजकका अनुसार प्रथम हुनेलाई एक लाख नगद पुरस्कार प्रदान गरिनेछ । म्याराथन सम्पन्न गर्न ३५ लाख लागत लाग्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार पाँच सय, अन्य राष्ट्रका धावकलाई १६ हजार, नेपाली धावकका लागि सात हजार र स्थानीय धावकका लागि पाँच हजार दर्ता शुल्क तोकिएको छ । सो रकमबाट रारातालको बाससहित टिसट तथा खाजाखानाको प्रबन्ध गरिएको छ । आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाइएको छ ।

 

 

प्रकाशित मितिः   ६ चैत्र २०८०, मंगलवार ०५:०२