अपरिहार्य पार्किङ क्षेत्र

सार्वजनिक जग्गामा बनाइएका निजी संरचना हटाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ स्थित हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा बनाइएका संरचना हटाउन लागिएको हो । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त क्षेत्रमा विभिन्न व्यवसायीहरूले संरचना निर्माण गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् । नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गरेर ठाउँ खाली गर्न अनुरोध गरेको थियो । तर व्यवसायीहरूले अटेर गरेपछि बुधवारदेखि बल प्रयोग गरेर संरचना भत्काउन थालिएको हो । प्रहरीको सुरक्षासहित डोजर प्रयोग गरेर संरचना हटाउने काम भइरहेको छ ।

माघ १७ गते सार्वजनिक सूचना निकालेर उक्त स्थान ३५ दिनभित्र छाड्न नगरले समयसिमा दिएको थियो । त्यो समय फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलवारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए । बुधवार बाध्य भएर डोजरसहित टोली परिचालन गरिएको नगरपालिकाले जनाएको छ । बुधवार हङकङ बजार, हटियालाइन, गोदामलाइन र घण्टाघर क्षेत्रमा नगरपालिकाले टोली परिचालन गरेर संरचना हटाएको छ । सार्वजनिक सूचनाको अवज्ञा गरेकाले डोजरसहित कर्मचारी परिचालन गर्नुपरेको नगरपालिकाले जनाएको छ । सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा व्यापारीहरूले वर्षाैंदेखि भोग चलन गर्दै आएका थिए । सार्वजनिक स्थान खाली गराउन वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाउन खोजेपछि व्यवसायीहरूले आफ्नो सामान सार्न थालेका छन् । नगरपालिकाले विकल्प नदिएर आफूहरूलाई बिचल्लीमा पारेको व्यापारीहरूको आरोपसमेत छ । सुरुमा अन्य स्थानको टुँगो लगाउने बताएपनि अहिले डोजर चलाएर आफूहरूलाई हटाउन लागेको उनीहरूले बताएका छन् ।

नगरभित्रका आफ्नो स्वामित्वमा रहेको जग्गामा निर्माणभएका सबै अवैध संरचना हटाउन लागिएको हो । विगत लामो समयदेखि वीरेन्द्रनगरका थुप्रै सार्वजनिक स्थानमा विभिन्न व्यक्तिहरूले संरचना निर्माण गरेका छन् । व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । अहिले नगरपालिकाले यस्ता ठाउँ खाली गर्ने गरी अभियान सञ्चालन गरेको छ । अतिक्रमण गरिएका वा विगतमा अनुमति लिएरै भएपनि सरकारी जग्गामा बनाइएका संरचना खाली गरिनेछ । सार्वजनिक जमिनमा केही निश्चित व्यक्तिहरूको रजाइँ हुने अवस्थालाई चिर्दै नगरपालिकाले थालेको अभियान सकारात्मक छ । अहिले हटाउन लागिएको स्थानमा पार्किङ स्थल बनाउने योजना अघि सारिएको छ । वीरेन्द्रनगरमा बढ्दो चापले छुट्टै पार्किङ क्षेत्रको आवश्यकता महशुस भइसकेको छ । आगामी दिनमा यो आवश्यकता अझ चर्को हुँदै जानेछ । त्यसैले अहिले नै व्यवस्थित रूपमा पार्किङ क्षेत्रको व्यवस्थापन गर्नु सकारात्मक कदम हुनेछ ।

प्रकाशित मितिः   २ चैत्र २०८०, शुक्रबार ०५:०३