कर्णालीको मुख्यमन्त्रीमा एमालेको दाबी

सुर्खेत: सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) ले दाबी गरेको छ । नयाँ गठबन्धन बनेपछि सत्तारुढ दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । मंगलवार कांग्रेस बाहिरिएसँगै अब कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितको गठबन्धन सरकार बन्नेछ । अब बन्ने सरकारको नेतृत्वमा एमालेले आफ्नो दाबी गरेको हो ।

यसअघि पटक–पटक गठबन्धनबाट धोका पाएको भन्दै एमालेले कुनै पनि हालतमा यो पटक नेतृत्व छाड्न नसकिने जनाएको छ । एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले मुख्यमन्त्रीमा पार्टीको सशक्त दाबी रहेको बताए । उनले माओवादी र कांग्रेसले समेत सरकारको नेतृत्व गरेर परीक्षण भइसकेको भन्दै जनताले पनि एमालेको नेतृत्व हेर्न चाहेको जिकिर गरे ।

केन्द्रमा नयाँ गठबन्धन बनेपनि प्रदेश सरकारको विषयमा कुनै टुँगो लागेको छैन । प्रदेशको भागबन्डा हुनै बाँकी छ । यद्यपि, एमालेको कर्णाली नेतृत्व भने यसपटक जसरी पनि नेतृत्व लिने गरी ‘लविङ’मा जुटिसकेको छ । सरकारमा जाने विषयमा केन्द्रबाट कुनै निर्देशन नआए पनि आन्तरिक रूपमा पार्टी छलफलमा जुटेको सचेतक पछाईंले बताए । उनले भने, ‘हामी सरकारमा जाने भन्दा पनि अब एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्छ । मुख्यमन्त्रीमा दाबी छ ।’

यसअघि प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा माओवादी र एमालेबीच कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । तर लगत्तै केन्द्रीय समीकरण बदलिएपछि एमाले प्रदेश सरकारबाटै बाहिरिएको थियो । यसपटक पुनः एमाले सरकारमा जाने भएको छ । यसपटक सरकारको नेतृत्व नै गर्नेगरी जाने एमाले नेताहरू बताउँछन् ।

यद्यपि, मुख्यमन्त्री राजकुमार शर्मा भने आफ्नै नेतृत्वमा सरकार विस्तार हुने बताउँछन् । नयाँ समीकरण बनेपछि कसरी अगाडि बढ्ने भनेर केन्द्रको निर्णय पर्खिरहेको उनले बताए । निर्देशन नआउँदासम्म सरकारले पुरानै शैलीमा काम गरिरहने समेत शर्माले जनाए । उनले भने, ‘परिवर्तन भएको समीकरण अनुरूप सरकार अघि बढ्छ । तर अहिले नै कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको छैन । केन्द्रको निर्देशन अनुसार अघि बढ्छौँ ।’ केन्द्रको निर्णय अनुसार नै मन्त्रीमण्डल फेरबदल गर्ने मुख्यमन्त्री शर्माले जनाएका छन् ।

 

कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

 

मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा पत्र बुझाउँदै कांग्रेसका मन्त्रीहरू

 

नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले मंगलवार मुख्यमन्त्री शर्मासमक्ष संयुक्त राजीनामा पत्र पेस गरेका हुन् । उनीहरू गत वैशाखमा मन्त्री बनेका थिए ।

कार्यप्रगति सार्वजनिक

राजीनामा दिनुअघि तीनै जना मन्त्रीले पत्रकार सम्मेलन गरेर आफ्नो कार्यप्रगतिसमेत सार्वजनिक गरेका छन् । सुशासन प्रवद्र्धन गर्नका लागि नयाँ कार्यक्रमको थालनी गरिएको र बजेट खर्च सुधारमा नीतिगत कुरा समावेश गरिएको निर्वतमान अर्थमन्त्री वेदराज सिंहले बताए । बहुवर्षीय ठेक्काको स्रोत सहमति दिने प्रणालीलाई सुधार गरिएको, विनियोजित रकमको अधिकतम् चार गुणाभन्दा बढी नहुने गरी बढीमा तीन वर्षको लागि स्रोतको सहमति दिने गरी बहुवर्षीय ठेक्कासम्बन्धी निर्देशिका कार्यान्वयन गरिएको उनले जनाए ।

रकमान्तर तथा कार्यक्रम संशोधन गर्ने प्रवृत्तिमा सुधार ल्याइएको भन्दै मन्त्री सिंहले आर्थिक वर्षको बीचमा कुनै पनि नयाँ आयोजनामा रकम विनियोजन नगरिएको जनाए । प्रशासनिक खर्च बढ्न नदिएको, टुक्रे योजना कटौती गरेर बजेट कार्यान्वयनमा जोड दिएको उनको भनाइ छ । हालसम्म सरकारले १८ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ २७ दशमलव ६४ प्रतिशत र पुँजीगत तर्फ ११ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको हो । विगतको तुलनामा बजेट खर्चमा सुधार भएको सिंहले जनाए ।

यसैगरी निर्वतमान सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले छोटो समयमा पनि उल्लेखीय कामको सुरुवात गरिएको दाबी गरे । प्रदेश गौरवको रंगशाला निर्माण र प्रदेश अस्पतालको पूर्वाधारमा जोड दिएको उनले जनाएका छन् । पोखरेलले नागरिक स्वास्थ्य परीक्षण र सार्वजनिक शिक्षा सुधारको कार्यक्रम सञ्चालनका लागि नयाँ कार्यविधि २०८० निर्माण गरिएको जानकारी दिए । मन्त्रालयले यस वर्षदेखि प्रदेश प्रमुख ‘सामाजिक रूपान्तरण अभियान’ कार्यक्रम सञ्चालन गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारलक्षित कार्यक्रम सञ्चालन गरेको जनाए । उनका अनुसार प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् पर्यटकीय स्थलको संरक्षण गर्न पर्यटन गुरूयोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले केही नयाँ नियमावली निर्माण गरेको छ ।

प्रकाशित मितिः   २३ फाल्गुन २०८०, बुधबार ०५:०५