फाइनलमा नेपाल पराजित

सुर्खेत: टी–२० त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलवार कीर्तिपुर मैदानमा नेपाललाई चार विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो ।

नेपालले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर तीन बल अगावै पूरा ग¥यो । माइकल लेविटको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपालमाथि जित हासिल गरेको हो । लेविटले २९ बलमा ५४ रन बनाए । उनले ६ चौका र तीन छक्काको मद्दतले सो रन बनाएका थिए । साइब्रान्ट एन्गेलब्रेक्टले ४८ रनको योगदान गरे । बिक्रमजीत सिंहले २९ र मेक्स ओडाडले २२ रन बनाए । नेपालका कुशल मल्लले चार विकेट लिए । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरोले समान एक÷एक विकेट हात पारे ।

टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाएका थिए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले । कप्तान रोहित पौडेलले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुदाँ करन केसी नौ र आरिफ शेख शुन्य रनमा पोविलियन फर्किए । सोमपाल कामी र प्रतिस जिसी समान ६ रनमा अविजित रहे ।

डच टिमका माइकल लेविट, फ्रेड क्लासेन, टिम वान डेर र साइब्रान्ड एनगेलब्रेक्टले समान दुई–दुई विकेट हात पारेका थिए । विश्वकप लिग टू नेपाल आएर नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो । टी–ट्वान्टी त्रिकोणात्मक सिरिज नेपालले यस वर्ष खेल्ने विश्वकप तयारीको सुरुवातसमेत हो ।

प्रकाशित मितिः   २२ फाल्गुन २०८०, मंगलवार १७:४६