फेरियो गठबन्धन: मन्त्रिपरिषद् पुनर्गठन
सुर्खेत: सत्तारुढ गठबन्धन फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमवार तीन जना विनाविभागीय मन्त्रीले शपथ लिएका छन् ।
सोमववार बिहान नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै मन्त्री बर्खास्त गरेका थिए । त्यसपछि नयाँ समीकरणमा सहभागी दलहरूसँगको सहमतिमा चार सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । एमालेका पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई मन्त्री नियुक्त गरिएको छ ।
तीनै जनाले सोमवार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूको मन्त्रालय भने पछि तोकिने राष्ट्रपति कार्यालयले पठाएको विज्ञप्तिमा उल्लेख छ ।
२०७९ पुस १० गते एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले करिब डेढ महिनापछि गठबन्धन परिवर्तन गरेका थिए । उनले एमालेसँगको सहकार्य छाडेर नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेर मन्त्रिपरिषद् गठन गरेका थिए ।
यसपटक कांग्रेस र माओवादीबीच गठबन्धन तोडिएपछि एमाले एक वर्ष नौ दिनपछि पुनः सत्तमा गएको छ । राष्ट्रपति कसलाई बनाउने विषयमा एमाले र माओवादीबीच कुरा नमिलेपछि गत फागुन १२ मा एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि एमाले संघसहित सातै प्रदेश सरकारबाट बाहिरिएको थियो । राष्ट्रपति कसलाई बनाउने विषयमा एमालेसँग कुरा नमिलेपछि माओवादीसहित अन्य दल कांग्रेससँग गठबन्धन भएको थियो । कांग्रेस माओवादीसहित यो गठबन्धन एक वर्ष तीन महिना नौ दिन चल्यो ।
प्रकाशित मितिः २२ फाल्गुन २०८०, मंगलवार ०९:०२
साझा बिसौनी ।