तीन सहर जोड्ने सहरी करिडोर

सुर्खेत: नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी करिडोर निर्माण गरिने भएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबीच सहज पहुँच स्थापित गर्न सहरी करिडोर निर्माण गर्न लागिएको हो ।

करिडोरको लागि अहिले एकीकृत विकास रणनीति तयार पारिदै छ । त्यसका लागि सरोकारवालाहरूसँग छलफल चलिरहेको छ । सोमवार सुर्खेतको वीरेन्द्रनगरमा सहरी करिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीति योजनासम्बन्धी छलफल गरिएको हो । सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले तीन वटा सहर जोडेर सहरी करिडोर विकास गर्न लागेको जानकारी दिए । उनका अनुसार नेपालगञ्ज–कोहलपुर–सुर्खेतमा सहरी करिडोर बन्न लागेको हो । ‘हालसम्म सहर केन्द्रित गरेर पूर्वाधार विकास भए तर पछिल्लो समय जनसंख्या वृद्धिसँगै सहर आसपासका सडकमा बसोबास बढ्दै गयो’, मैनालीले भने, ‘सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी करिडोरको काम अघि बढाएका हौँ ।’ आसपासमा बस्ती विकास हुँदै जाँदा भविष्यमा व्यवस्थित पूर्वाधार विकासमा ठूलो चुनौती हुने देखिएपछि सहरी करिडोरको अवधारणा अघि सारिएको उनले जनाए ।

सहरी विकास मन्त्रालयले त्यसका लागि अहिले प्रि–फिजिविलिटी अध्ययन गरिरहेको छ । एक घण्टाको दुरीमा रहेका साना सहरहरूलाई कसरी आर्थिक आयआर्जनमा जोड्न सकिन्छ भनेर अध्ययन भइरहेको हो । आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलगायतको अध्ययन थालिएको छ । यसै आर्थिक वर्षमा प्रि–फिजिविलिटी अध्ययन सकेर अर्कोवर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिनेछ ।

यसअघि मन्त्रालयले चार वटा सहरी करिडोरको काम गरिसकेको छ । पाँचौ करिडोरको रूपमा नेपालगञ्ज–कोहलपुर–सुर्खेतको विस्तृत सम्भाव्यता अध्ययन गर्न लागिएको मन्त्रालयले जनाएको छ । अहिले करिडोर निर्माणको सुरुवाती चरणको काम थालिएको हो । ‘अध्ययन प्रतिवेदनले लगानी कस्तो र के–कति मात्रामा लगायत विषय प्रष्ट पारेपछि करिडोरमा लगानी र कति वर्षमा कस्तो परिणाम आउँछ भन्न सकिनेछ’ मैनालीले भने, ‘सरोकारवालाको सुझावको आधारमा अघि बढ्ने छौँ, अहिले सहरी करिडोरको प्रि–फिजिविलिटी अध्ययनको काम भइरहेको छ ।’

यो संघीय सरकारअन्तर्गत कार्यान्वयन हुने कार्यक्रम हो । प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । करिडोर निर्माणमा प्रदेश सरकारले संघीय सरकारलाई पूर्ण सहयोग गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताए । सहरी करिडोर विकासका लागि दीर्घकालीन सोच र रणनीति योजना तर्जुमा प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै शर्माले यस्तो बताएका हुन् । सहर व्यवस्थित नहुँदा विकास अस्तव्यस्त हुने भएकाले सहरी करिडोर अघि बढाउन आवश्यक रहेको उनको भनाइ छ । ‘पहिलो पटक गर्न लागिएको सहरी करिडोरलाई सही आकार दिन सक्यौँ भने यसले नयाँ दिशा दिनेछ,’ शर्माले भने, ‘नयाँ विकासको मोडलमा जान आवश्यक छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्छ ।’ सहरी विकास मन्त्रालयले थालेको अभियानलाई प्रदेश सरकारले महŒवका साथ लिएको उनले बताए ।

वीरेन्द्रनगरमा भएको छलफलले करिडोर निर्माणका लागि महŒवपूर्ण खाका तयार भएको जनाइएको छ । सरोकारवालासँग नयाँ मोडलको रूपमा रहेको सहरी करिडोरलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको थियो । केही सामान्य छलफल भएको र विस्तृत अध्ययनका आधारमा अन्य काम अघि बढ्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव आनन्द सारुले बताए । उनका अनुसार नेपालगञ्ज–कोहलपुर–सुर्खेत करिडोर निर्माण गर्ने भनिएको छ । यसलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर वीरेन्द्रनगरमा सामान्य छलफल भएको छ । सारुले भने, ‘यो कर्णालीका लागि खुसीको खबर हो । व्यवस्थित सहर निर्माणका लागि करिडोरको काम अघि बढ्नेछ ।’ नेपालगञ्ज– कोहलपुर र सुर्खेत क्षेत्रमा एकीकृत रूपमा कस्तो खालको रणनीति अपनाएर विकास गर्न सकिन्छ भनेर अहिले अध्ययनको काम भइरहेको जनाइएको छ ।

प्रकाशित मितिः   २२ फाल्गुन २०८०, मंगलवार ०८:५९