विश्वविद्यालय उपकुलपतिविहीन

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय नेतृत्वविहीन भएको छ । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल सकिएपछि नयाँ उपकुलपतिको नियुक्त हुन सकेको छैन ।

मध्यपश्चिमसँगै पूर्वाञ्चल विश्वविद्यालका प्रा.डा. यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्रा.डा. अमरराज जोशीको कार्यकाल पनि शनिवारदेखि सकिएको छ । उनीहरूलाई चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गरेका थिए ।

नयाँ उपकुलपति नियुक्त प्रक्रिया स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हालका लागि स्थगित गरिएको छ ।

समितिले २६ माघमा सूचना प्रकाशन गरेर दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा मध्यपश्चिमको उपकुलपतिका लागि नौ जनाले आवेदन दिएका छन् । तर मापदण्डमाथि विवाद भएपछि स्थगित गरिएको प्रक्रिया अघि बढ्न सकेको छैन । उपकूलपति छनोट प्रक्रिया नै अहिले अन्योलमा परेको छ ।

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट मापदण्डमा अनुसन्धानलाई ३५ अंक छुट्याएको छ । अन्तरवार्ता र विश्वविद्यालयको कार्ययोजना प्रस्तुतिलाई कम प्राथमिकता दिइएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि भने अनुसन्धानलाई ६ अंक र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि १६ अंक अनुसन्धानलाई छुट्याइएको थियो । त्यही मापदण्डलाई आधार मानेर आवेदकहरूले आपत्ति जनाइरहेको समितिले जनाएको छ । अब कार्यविधि संशोधन अथवा कसरी अगाडि बढ्ने भन्ने विषयमा समितिको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित मितिः   २१ फाल्गुन २०८०, सोमबार ०५:०१