कर्णालीमा ललितकला प्रदर्शनी

वीरेन्द्रनगरमा प्रादेशिक ललितकला प्रदर्शनी भइरहेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल कमर्सियल आर्टिस्ट संघ सुर्खेत जिल्ला समितिको सहकार्यमा बिहीवारदेखि सुरु भएको कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी–२०८० पाँच दिनसम्म सञ्चालन हुनेछ ।

प्रज्ञा प्रतिष्ठानले पहिलो पटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’को सुरुवात गरेको हो । जसको सुरुवात कर्णालीबाट गरिएको छ । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयमा भइरहेको प्रदर्शनीमा विभिन्न प्रकारका ऐतिहासिक मूर्ति र चित्र राखिएको छ । ४६ कलाकारका ६६ कलाकृति समावेश गरिएका छन् । जसमा कला, संस्कृति, भेषभूषा, सामाजिक रितिरिवाज र सभ्यता उजागर गरिएको छ ।

कर्णालीमा रहेका रारा, लिमी, सिंजा उपत्यका, धो, शे–फोक्सुन्डो, पञ्चकोशी लगायतका धार्मिक तथा पर्यटकीय स्थलका कलात्मक चित्र उतारिएको छ । त्यसैगरी विभिन्न धार्मिक तथा जातीय पहिचानलाई समेत कलाकृतिमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनीसँगै प्रतियोगिता पनि गरिएको छ । ललितकला अन्तर्गतका विभिन्न सात वटा विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ भने छानिएका कलाकृतिलाई २०८१ जेठ १५ देखि काठमाडौंमा आयोजना हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा समावेश गरिने जनाइएको छ ।

 

 

 

 

प्रकाशित मितिः   १९ फाल्गुन २०८०, शनिबार ०९:४५