सुर्खेत र हुम्ला सेमीफाइनलमा

जुम्ला: सुर्खेत र हुम्ला कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन् । बुधवार आ–आफ्नो खेल जित्दै दुवै जिल्लाले सेमीफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

जुम्लाको सदरमुकाम खलंगामा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन सुर्खेतले मुगुलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । खेलको ३१औँ मिनेटमा नविन ओलीले पहिलो गरेर सुर्खेतलाई अग्रता दिलाएका थिए । ४८औँ मिनेटमा मुगुका मिसी शाहीले गोल गर्दै खेलालाई १–१ को बराबरीमा ल्याए । तर ५७औँ मिनेटमा ओलीले नै दोस्रो गोल गरेर २–१ को अग्रता बनाए । त्यसपछि ६० र ६८ औँ मिनेट गोल गर्दै भरत नगलले सुर्खेतलाई ४–१ को जित दिलाएका हुन् ।

बुधवार नै भएको दोस्रो खेलमा हुम्लाले जाजरकोटलाई २–० गोलले पराजित गरेको छ । खेलको ३३औँ मिनेटमा हुम्लाका सागर शर्माले पहिलो गोल गरेका थिए । त्यसपछि ५३औँ मिनेटमा सुनिल शाहीले दोस्रो गोल गरे भने जाजरकोटबाट कुनै गोल हुन सकेन ।

आयोजक जिल्ला फुटबल संघ जुम्लाका अनुसार बिहीवार सेमीफाइनल हुनेछ । पहिलो सेमीफाइनलमा जुम्ला र सुर्खेतबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमीफाइनलमा हुम्ला र कालीकोट भिड्नेछन् । दुवै खेलका विजेताले शुक्रवार उपाधिका लागि फाइनल खेल खेल्नेछन् ।

प्रतियोगितामा आयोजक जुम्लासहित सुर्खेत, कालीकोट, हुम्ला, मुगु र जाजरकोट सहभागी छन् । आगामी वर्ष कर्णालीमै हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको टिम छनोटको उद्देश्यसहित यसपटक जुम्लामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मितिः   १७ फाल्गुन २०८०, बिहीबार ०५:०१