विमानस्थल उद्घाटन

कालीकाेट: कालीकोटको कोटबाडास्थित सुनथराली विमानस्थल उद्घाटन गरिएको छ । सोमवार उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, पर्यटन मन्त्री सुदन किराँती, कर्णाली सरकारमा मुख्यमन्त्री राजकुमार शर्मासहितले विमानस्थल उद्घाटन गरेका हुन् ।

निर्माण सुरु भएको ३८ वर्षपछि औपचारिक रूपमा विमानस्थल उद्घाटन गरिएको हो । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिद्वारा एक लाख रूपैयाँ छुट्याएर निर्माण कार्य सुरु भएको बिमानस्थलको नियमितरूपमा आर्थिक वर्ष २०४८/०४९ बाट निर्माण कार्य सुरू भएको थियो । विमानस्थल निर्माण कार्य २०७९ साल माघ ११ गते सम्पन्न भएको थियो ।

२०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । मृत्यु हुनेमा धादिङको जोगिमराका १७ र बाँकी स्थानीय गरी ३६ जना रहेका थिए । त्यसपछि २०७३ साल माघमा पहिलो पटक उडान परीक्षण गरिएको थियो । तर कालोपत्रे नगरिएको धावनमार्गमा नियमित उडान भने हुन सकेन । आइतवार दोस्रो पटक परीक्षण गरेर सोमवार उद्घाटन गरिएको हो ।

विमानस्थल उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन उडान भर्ने बताए । उनले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको पनि दाबी गरे । निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालीकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम विमानस्थल निर्माण गरी पूरा गरिएको बताए ।

कालीकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताए । उनले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । कालीकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फको विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने पनि उनको भनाइ थियो । ‘कालीकोटको विकासको लागि केन्द्र सरकारको तर्फबाट पहल गरिरहेको छु, कालीकोटका पर्यटकीय क्षेत्रको विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ,’ उनले भने ।

प्रकाशित मितिः   १५ फाल्गुन २०८०, मंगलवार १०:१४