कुमारी बैंकसँग मर्ज हुँदै काँक्रेविहार
सुर्खेत, २८ फागुन ।
सुर्खेतमा प्रधान कार्यालय रहेको काँक्रेविहार विकास बैंकले अबदेखि कुमारी बैंकको नाममा कारोबार सुरु गर्ने भएको छ । कुमारी बैंकसँगै मर्ज भइ कारोबार अघि बढाउने बैंकले जनाएको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न आठौं वार्षिक साधारणसभाको अवसरमा बैंकले यस्तो जानकारी दिएको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष छविलाल रानाले सेवा सुविधालाई गुणात्मक बनाउने उद्देश्यले मर्ज गर्न लागिएको बताए ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूको पूँजीगत आधार सुदृढ गरी दीर्घकालीन विकासको लागि आवश्यक पर्ने स्रोत परिचालन गर्न तथा स्थायित्व प्रबद्र्धन गर्न न्यूनतम चुक्ता पूँजी पु¥याउनुपर्ने भएका कारण ‘क’ वर्गको बैंकसँग मर्ज गर्न लागिएको जनाइएको छ । ‘राष्ट्र बैंकले निर्धारण गरेको २०७४ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पूँजी आठ अर्ब पु¥याउन दिइएको निर्देशनको कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गरेका छौं’ अध्यक्ष रानाले भने । यसले गर्दा सर्वसाधारणको विश्वसनीयतामा वृद्धि भइ वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो । ‘मर्जको लागि कुमारी बैंकसँग गत आश्विन १६
गते समझदारी पत्रमा हस्ताक्षर गरी निवेदन नेपाल राष्ट्र बैंकमा पठाइएको छ’ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रानाले भने, ‘उल्लेखित बैंकहरूले अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउन साधारणसभामा पेश गरिएको छ ।’
कार्यक्रममा बैंकका सञ्चालक राजबहादुर गुरुङले बैंक मर्जको ८५ प्रतिशत काम सकिएको बताए । कुमारी बैंकसँग मर्ज भएमा भारतबाट पनि एटीएम सुविधा लिन सकिने बताए । त्यसैगरी जुनसुकै देशमा पनि पैसा पठाउन सकिने उनले जानकारी दिए ।
यस आर्थिक वर्षमा निक्षेप संकलनमा वृद्धि भएको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष १५ करोड ३४ लाख २३ हजार बढी निक्षेप संकलन भएको काँक्रेविहार बैंकले जनाएको छ । लक्ष्य गरेको भन्दा बढी निक्षेप संकलन भएको जनाइएको छ । बैंकका अनुसार ७९ करोड ८१ लाख १३ हजार निक्षेप संकलन गरेको र ८८ करोड २७ लाख १९ हजार कूल सम्पत्ति रहेको जनाएको छ । त्यसैगरी कूल कर्जा सापटी ४७ करोड ५२ लाख १० हजार रहेको छ भने बैंकको यस वर्ष ८९ लाख २७ हजार सञ्चालन नाफा भएको जनाएको छ ।
साधारणसभामा संस्थापक सञ्चालक लालबहादुर घले, सञ्चालकहरू शेरबहादुर थापा, दिपेन्द्रकुमार थापा, लोकमाया गुरुङ, रेशमबहादुर गुरुङ, योगराज पोख्रेल, लक्ष्मीकुमारी शाही लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन बैंकका प्रबन्धक जगत थापाले गरेका थिए ।
साझा बिसौनी ।