सुर्खेतलाई औद्योगिक केन्द्र बनाउने निजी क्षेत्रको प्रतिबद्धता
सुर्खेत, २८ फागुन ।
निजी क्षेत्रले सुर्खेतलाई औद्योगिक केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ । प्रदेश नम्बर ६ को आर्थिक समृद्धिका लागि सुर्खेतलाई औद्योगिक केन्द्रको रूपमा स्थापित गर्न आफूहरू लगानी गर्न तयार रहेको भन्दै व्यवसायीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । सुर्खेतलाई आर्थिक हवको रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ ।
जलस्रोत, जडिबुटी, पर्यटन र कृषि उत्पादनको पर्याप्त सम्भावना रहेकाले सुर्खेत औद्योगिक केन्द्र बन्ने निजी क्षेत्रको निश्कर्ष छ । कर्णालीको प्रवेशद्वार भएकाले पनि अब सुर्खेतलाई औद्योगिक प्रशोधन र उत्पादनको केन्द्र बनाउने प्रतिबद्धता व्यवसायीहरूले जनाएका हुन् । साथै सुर्खेतमा धेरै सम्भावना रहेको भन्दै उनीहरूले लगानी गर्न आतुर रहेको बताए । यसका लागि आवश्यक वातावरण मिलाउन उनीहरूले जिल्लाका राजनीतिक दल र स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । जिल्लामा लगानी भिœयाउन भन्दै सुर्खेत उद्योग वाणिज्य संघले लगानीका क्षेत्रहरूसमेत पहिचान गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले प्रदेश नम्बर ६ को आर्थिक समृद्धिका लागि निजी क्षेत्रले आवश्यक लगानी गर्ने बताए । उनले भने, ‘यो क्षेत्रमा पर्याप्त सम्भावना छन्, जलस्रोत र पर्यटनमा लगानी गर्न सकिन्छ । अब राज्यले बाटो र बिजुलीको व्यवस्था गरोस्, हामी सुर्खेतलाई औद्योगिक केन्द्र बनाउन लगानी गर्न आतुर छौं ।’ यस क्षेत्रमा धार्मिक पर्यटनको धेरै सम्भावना रहेको भन्दै उनले सुर्खेतलाई केन्द्र बनाएर समग्र प्रदेशभरी नै पर्यटन व्यवसायलाई व्यवस्थित गर्न सकिने बताए । राजनीतिक दलहरूले प्रतिबद्धता जनाएमा जिल्लामा अन्तर्राष्ट्रिय लगानी भिœयाउन आफूले पहल गर्ने उनको भनाइ छ । कृषिमा आधारित उद्योगहरूमा लगानी गर्न सकिने भन्दै उनले सुर्खेतलाई प्रदेशको औद्योगिक केन्द्र बनाउन आफूहरूले पहल थाल्ने उल्लेख गरे ।
सुर्खेत उद्योग वाणिज्य संघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न ३३ औं वार्षिक साधारणसभामा व्यवसायी अरुण सुमार्गीले भने, ‘हामी सुर्खेतमा लगानी गर्दैछौं, यहाँ खनिजको धेरै सम्भावना छ । चौकुने सिमेन्ट उद्योगमा लगानी गरिसकेका छौं, उद्योगको काम पनि सुरु भएको छ ।’ उनले आफूहरू थप लगानी गर्न इच्छुक रहेको भन्दै जिल्लालाई बन्द र हड्तालमुक्त क्षेत्र बनाउन आग्रह गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले आफूहरूको पहलमा जिल्लामा एक सय करोड लगानी भित्रिसकेको जानकारी दिए । उनले भने, ‘यो प्रदेशको अर्थतन्त्रलाई अब सुर्खेतले नै थेग्नुपर्ने अवस्था छ, त्यसका लागि निजी क्षेत्रले पूर्व तयारी थालेको हो । अहिले जिल्लामा शीतभण्डार र जडिबुटी प्रशोधन उद्योग स्थापना भएका छन्, अन्य उद्योगमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता इच्छुक छन् ।’ यस्तै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पर्यटनको क्षेत्रमा लगानी भिœयाउन आफूहरू तयार रहेको बताए ।
सोही अवसरमा सुर्खेतमा लगानीका क्षेत्र र सम्भावना समावेश भएको पुस्तकको पनि लोकार्पण गरिएको छ । उक्त पुस्तकमा जिल्लामा लगानी गर्न सकिने क्षेत्र र सम्भाव्यता समावेश छन् । प्रदेश नम्बर ६ उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजना, चौकुने सिमेन्ट उद्योग, धार्मिक, पर्यटन, जलस्रोत, जडिबुटी र कृषिमा निजी क्षेत्रले लगानी गर्नसक्ने बताए । यस्तै खनिजजन्य उद्योगमा पनि लगानी गर्न उनले व्यवसायीहरूलाई आग्रह गरे । मध्यपश्चिम क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौडेलले निजी क्षेत्रको लगानी सुरक्षित गर्न र व्यवसायमा सुरक्षा प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘आर्थिक क्षेत्रको नेतृत्व निजी क्षेत्रले गरोस्, यहाँ सबैभन्दा बढी पर्यटन उद्योगमा सम्भावना छ । अब तपाईंहरू ढुक्क भएर लगानी गर्नुस्, यो प्रदेश आर्थिक रूपमा सवल हुनेछ ।’ सुर्खेत लगायत यो प्रदेशमा लगानी आकर्षण गर्नका लागि राज्यले पूर्वाधारमा लगानी गर्ने र त्यसमा आफूले पहल गर्ने उनको भनाइ छ ।
सुर्खेतलाई आर्थिक केन्द्रको रूपमा स्थापित गर्न सुर्खेत उद्योग वाणिज्य संघले शीतभण्डार र जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गर्ने, सुर्खेतमा
प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, चौकुने सिमेन्ट उद्योग, रत्नराजमार्गको स्तरोन्नति, विशेष आर्थिक क्षेत्र घोषणा, एक गाउँ एक उत्पादन र खनिजजन्य उद्योग स्थापनाका लागि पहल गर्ने भएको छ । यस्तै जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी भिœयाउन आफूहरूले आवश्यक पहल थाल्ने संघका महासचिव गोपालकृष्ण गिरीले बताए । साधारणसभामा देशका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरूले सुर्खेतमा लगानी भिœयाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साधारणसभामा संघका महासचिव गोपालकृष्ण गिरीले प्रगति र कोषाध्यक्ष दिपेन्द्र ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बसेल पुरस्कृत
यसैबीच सुर्खेत उद्योग वाणिज्य संघको ३३ औं वार्षिक साधारणसभाको अवसरमा शनिवार सुर्खेतपत्र दैनिकका सम्पादक ललित बसेललाई आर्थिक पत्रकारिता पुरस्कार–२०७३ प्रदान गरिएको छ । ११ हजार एक सय ११ रूपैयाँ राशी, सम्मानपत्र र दोसल्लासहितको सो पुरस्कार उनलाई प्रदान गरिएको हो । गोरखापत्र दैनिकका सुर्खेत समाचारदातासमेत रहेका पत्रकार बसेललाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी र प्रकाशन समितिका संयोजक लक्ष्मण कँडेलले पुरस्कार हस्तान्तरण गरेका हुन् । जिल्लाको समग्र आर्थिक क्षेत्रलाई पत्रकारिताका माध्यमबाट उजागर गरेको भन्दै बसेललाई पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
यस्तै संघले बावियाचौरका डम्बरबहादुर शाहीलाई पलायन व्यवसायी राहत, ईत्राम माविका दृष्टिविहीन छात्रछात्राका लागि समीक्षा आचार्य छात्रवृत्ति पुरस्कार, मध्यपश्चिम फिटनेस सेन्टरका सञ्चालक प्रमोद हमाललाई सुर्खेतमा नौलो व्यवसायीका रूपमा सम्मान गरेको छ । यसैगरी हार्डवेयर समिति, फेन्सी तथा रेडिमेड वस्तुगत समिति, काँचो कपडा वस्तुगत समिति र क्यान सुर्खेतलाई पनि सर्वाधिक सक्रिय वस्तुगत समितिका रूपमा सम्मान गरिएको छ । राजु पाण्डे, यज्ञ शर्मा र खगेन्द्र भट्टराईलाई उत्कृष्ट व्यवसायी, हृदेश केसीलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको छ ।
साझा बिसौनी ।