मन्त्री ज्वालालाई राजीनामाको दबाब
सुर्खेत: दुई जना युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले दोषी देखाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नैतिक संकटमा परेका छन् । उनीमाथि नैतिकताका आधारमा राजीनामाको दबाब परेको छ ।
आयोगले मन्त्री ज्वालाले घटनाको जिम्मेवारी नलिएको उल्लेख गर्दै उनलाई ‘नैतिक जिम्मेवारी’ लिन प्रतिवेदनमा सुझाएको छ । ४ फागुनमा पूर्व न्यायाधीश शेखर पौडेल नेतृत्वको आयोगले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । नैतिक जिम्मेवारी लिन सुझाउँदै आयोगले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘प्रधानमन्त्रीले उहाँ (प्रकाश ज्वाला) बारे आवश्यक निर्णय लिन सक्नुहुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताइसकेका छन् । जाँचबुझ आयोगले दिएको प्रतिवदन अध्ययन गरेर आवश्यक निर्णय लिने उनको भनाइ छ । ‘मेरै प्रस्तावमा छानबिन समिति बनेको हो । छानबिन समितिले प्रतिवेदन दिएको छ’ दाहालले आइतवार संसद्मा भने, ‘अध्ययन गरेपछि दोषीमाथि आवश्यक कारबाही गरिन्छ ।’
पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कोरियामा काम गर्न जान खोज्नेहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीको दमनबाट दैलेख घर भएका सुजन रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाएका थिए । सो घटनापछि ललितपुरका प्रजिअ र एसएसपी फेरिएका छन् । बालकुमारी क्षेत्रमा गोली हान्न आदेश गर्ने डिएसपी उमेश लम्साल र मन्त्रीका पिएसओ दनुवार निलम्बनमा छन् । प्रदर्शन स्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको आयोगको निष्कर्ष छ । मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए ।
प्रकाशित मितिः ७ फाल्गुन २०८०, सोमबार ०५:०२
साझा बिसौनी ।