पूर्वसतर्कता
गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडास्थित सिर्पाचौरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो । बर्सेनि बाढी र पहिरोजस्ता प्राकृतिक विपद्ले पिरोलीरहने कर्णालीमा ६ दशमलव चार म्याग्निट्यूडको भूकम्पले अर्को पीडा थप्यो । जाजरकोट र रूकुमपश्चिममा ठूलो जनधनको क्षति भयो । एक सय ५४ जनाले ज्यान गुमाए, तीन सयभन्दा बढी घाइते भए । भूकम्प गएको चार महिना बित्यो । तर प्रभावित क्षेत्रका नागरिक अझैं पनि पुनस्र्थापित हुन सकेका छैनन् । ठूलो संख्या अहिले पनि त्रिपालमै बसोबास गरिरहेको छ । पुननिर्माणको गति निकै सुस्त छ । सुस्त गतिकै कारण नागरिकले सास्ती खेपिरहेका छन् ।
प्राकृतिक विपदले निम्त्याउने क्षति ठूलो समस्या बन्दै आएको छ । त्यसमाथि नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र मानिन्छ । विज्ञहरूले पश्चिम नेपालमा यो भन्दा शक्तिशाली भूकम्पको जोखिम रहेको औंल्याएका छन् । खासगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम यस्तै महाभूकम्पको जोखिममा रहेका प्रदेश हुन् । यहाँका परम्परागत भवन संरचनाहरू पनि कमजोर छन् । जसले गर्दा ठूलो भूकम्पमा अझ ठूलो विनाश र विपत्ति निम्तिने जोखिम रहन्छ । जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पका कारण भएको क्षति कमजोर भवनहरूका कारण भएको बताइन्छ । हाम्रा अधिकांश भौतिक संरचनाहरू भूकम्पीय जोखिम धान्न सक्ने अवस्थामा छैनन् । त्यसैले भवन तथा अन्य भौतिक संरचनाहरू निर्माण गर्दा भूकम्पको जोखिम न्यूनीकरण हुनेगरी निर्माणमा जोड दिनु अपरिहार्य छ । राज्यले यसलाई कडाइका साथ लागू गर्नु पनि उत्तिकै अनिवार्य हुन जान्छ ।
कर्णाली प्रदेशमा अहिले पनि भुकम्पप्रतिरोधी घरहरूको संख्या कम छ । घाम–पानी छेक्ने ओतका रूपमा मात्रै थुप्रै घर बनाइएको हुन्छ । त्यसमाथि आर्थिक तथा सामाजिक अवस्थाले पनि कम खर्चिला भवन बनाउने गरिएको छ । र, यही कारण मझौला खालका भुकम्प पनि ति संरचनाहरूले धान्न नसक्ने अवस्था निम्तिएको हो । यसै पनि भूकम्पको जोखिममा रहेको यस क्षेत्रमा घर तथा अन्य भौतिक संरचनाहरू बनाउन सावधानी अपनाउनुपर्ने देखिन्छ । भूकम्पप्रतिरोधी बनाउन सकेमा साना तथा मझौला खालका भूकम्पहरूले मानवीय क्षति पु¥याउन सक्ने अवस्था बन्दैन । त्यसैले नागरिकहरू स्वयम् पनि यसतर्फ सचेत हुन जरुरी छ भने सरकारले पनि सुरक्षित र भूकम्पप्रतिरोधी आवासको सुनिश्चिताका लागि पहल गर्न उत्तिकै अपरिहार्य देखिन्छ । जसले गर्दा भविष्यमा हुनसक्ने भुकम्पको अर्को जोखिमबाट जोगिन सघाउ पुगोस् ।
प्रकाशित मितिः ७ फाल्गुन २०८०, सोमबार ०५:०३
सम्पादकीय ।