सालकोटमा ५० शैय्याको अस्पताल बनाइने
सुर्खेत: प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालको रूपमा स्तरोन्नति गरिने भएको छ । पञ्चपुरी नगरपालिका वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्रलाई शैय्या थपेर सेवा विस्तार गर्न लागिएको छ ।
अहिले संघीय सरकारको लगानीमा १५ शैय्याको अस्पताल निर्माण भइरहेको छ । त्यसैलाई प्रदेश सरकारको लगानीमा ५० शैय्याको अस्पताल निर्माणको प्रक्रिया थालिएको हो । १५ शैय्या हुँदै ५० शैय्यामा स्तरोन्नति गर्ने योजना कार्यान्वयन हुँदैछ ।
१५ शैय्यामा स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको काम भइरहेको छ । अस्पतालको रंगरोगन र सरसफाईको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगति ८५ प्रतिशत भएको नगरपालिकाका इन्जिनियर नरेन्द्र भण्डारीले बताए । ७२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । नेपाल सरकारले २०७७ मंसिर १५ गते देशभर रहेका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । नगरपालिकामा निर्माण भएको भवनको २०७७ मंसिर १५ गते तत्कालीन स्वास्थ्य राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका थिए ।
कूल १८ करोडको लागतमा भवन तयार हुन लागेको छ । हालसम्म १३ करोड ६० लाख बजेट कार्यान्वयन भएको छ । २०७८ असार २२ गते स्वार÷ यसोसियट्स÷रञ्जितकार जेभी धनगडीसँग नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो । भवन निर्माण थालिएको साढे दुई वर्षमा ८५ प्रतिशत काम सकिएको छ । २०८१ असार २३ गतेसम्म काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्याधुनिक खालको रहेको छ ।
अहिले प्राथमिक स्वास्थ्य केन्द्र सालकोटको पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ । आउँदो जेठसम्म नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी थालिएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक राजेन्द्र अधिकारीले बताए । उनका अनुसार नयाँ दरबन्दी सिर्जना गरेर आधारभूत अस्पतालबाट सेवा दिने गरी तयारी थालिएको छ । सालकोटमा १५ शैय्याको अस्पताल निर्माण भए पश्चिमका तीन पालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका नागरिकले समेत लाभ लिनेछन् । पश्चिममा अहिलेसम्म सुविधा सम्पन्न अस्पताल निर्माण भएका छैनन् । यदि १५ शैय्याको सालकोट अस्पताल निर्माण भएमा त्यहाँका नागरिकले सामान्यबाहेक अन्य स्वास्थ्य सेवा लिन प्रदेश अस्पताल धाउनुपर्ने बाध्यता हट्नेछ ।
५० शैय्याको अस्पताल निर्माणको प्रक्रिया पनि सँगसँगै अघि बढेको छ । पञ्चपुरीका नगरप्रमुख लालविर भण्डारी दरबन्दी सिर्जना गरेर आउँदो जेठसम्म नयाँ भवनबाट आधारभूत अस्पतालको सेवा दिनेगरी काम थालिएको जानकारी दिए । उनले भने, ‘पहिले प्राथमिक स्वास्थ्य केन्द्र सालकोट थियो । अब १५ शैय्या हुँदै ५० शैय्याको अस्पतालमा स्तरवृद्धि हुन लागेको छ ।’
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य अनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो । गत आर्थिक वर्षबाट अस्पताल निर्माणको काम थालिएको थियो । गत वर्ष प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको थियो । उक्त वर्ष बजेट कार्यान्वयन हुन नसकेको नगरपालिकाले जनाएको छ । अस्पताल निर्माण योजना बहुवर्षीयमा नगएको र स्रोत सुनिश्चितता नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० शैय्याको अस्पताल निर्माण गर्न थप प्रक्रिया अघि बढाएको छ । यो वर्ष पनि तीन करोड बजेट विनियोजन गरेको छ ।
अस्पताल निर्माणका लागि नगरपालिकाले डीपीआर तयार गरेको छ । बजेटको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पेस गरिएको नगरपालिकाले जनाएको छ । अस्पताल निर्माणको प्रक्रिया अघि बढिसकेको नगरप्रमुख भण्डारीले बताए । उनका अनुसार वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को कामसमेत अन्तिम चरणमा पुगेको छ । १६ रोपनी जग्गा अस्पतालको नाममा गरिसकिएको भण्डारीले जानकारी दिए ।
यसै आर्थिक वर्षबाट ५० शैय्याको अस्पताल निर्माणको काम थालिने नगरपालिकाले जनाएको छ । ५४ करोडको लागत अनुमान रहेको छ । अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भए बहुवर्षीय ठेक्का प्रणालीबाट काम सुरु गरिने छ ।
प्रकाशित मितिः २७ माघ २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।