भूकम्प प्रभावित बालिका पढाउँदै ज्योति फाउण्डेशन

सुर्खेत: भूकम्प प्रभावित बालिकाहरूको पढाइका लागि श्री ज्योति फाउण्डेशनले सहयोग गर्ने भएको छ । जाजरकोट र रूकुमपश्चिमा भूकम्पबाट प्रभावित २० जना छात्राहरूको माध्यमिक तहसम्मको अध्ययनमा फाउण्डेशनले आर्थिक सहयोग गर्न लागेको हो ।

भूकम्पमा अभिभावक गुमाएका विपन्न परिवारका छोरीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागिएको फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन् । उनकाअनुसार तत्कालका लागि २० जना बालिकाहरू छनोट गरेर उनीहरूको सम्पूर्ण खर्च फाउण्डेशनले बेहोर्ने छ । सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन र अतिविपन्न परिवारका छोरीहरूको कक्षा १ देखि १० कक्षासम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च फाउण्डेसनले उपलब्ध गराउनेछ ।

अध्यक्ष कटुवालले भनिन्, ‘परिवारको आर्थिक अवस्थाका कारण पढ्न नपाएका छोरीहरूको पढाइमा सहयोग गर्ने उद्देश्यका साथ संस्था स्थापना गरेका हौँ, यही बेलामा भूकम्पले जाजरकोट र रूकुमपश्चिका नागरिकहरूलाई प्रभावित बनाएको छ । अहिले भूकम्प प्रभावित जिल्लाहरूका आमाबुवा गुमाएका अतिविपन्न परिवारका छोरीहरूलाई शिक्षामा सहयोग गरेर हाम्रो उद्देश्य कार्यान्वयनको सुरूआत गर्दैछौँ ।’ कटुवालका अनुसार भूकम्प प्रभावित स्थानीय तहहरूको सिफारिसका आधारमा छात्राहरू पहिचान गरिनेछ । स्थानीय तहले सिफारिस गरेका भूकम्प प्रभावित छात्राहरूको स्वास्थ्य उपचार तथा स्वास्थ्य परामर्शका लागि पनि सुर्खेतस्थित निजी अस्पतालसँग सम्झौता गर्ने प्रक्रिया चलिरहेको उनले जनाइन् ।

भूकम्प प्रभावित क्षेत्रका छोरीहरू पढाउने उद्देश्यका साथ रकम संकलन गर्न फाउण्डेशनले गत मंसिरमा सांगीतिक साँझ आयोजना गरेको थियो । उक्त साँझबाट संकलन भएको रकम बैंकमा जम्मा गर्ने र त्यसबाट प्राप्त ब्याजबाट छात्रवृत्ति प्रदान गरिनेछ । सांगीतिक साँझबाट फाउण्डेसनले २२ लाख ७५ हजार चार सय ९७ रूपैयाँ संकलन गरेको थियो । जसमध्ये नौ लाख ६१ हजार ३४ रूपैयाँ सांगीतिक साँझमा खर्च भएको अध्यक्ष कटुवालले जानकारी दिइन् । हाल संकलन भएको रकममध्ये १३ लाख १४ हजार चार सय ६३ रूपैयाँ बचत छ ।

प्रकाशित मितिः   २४ माघ २०८०, बुधबार ०५:०१