सघन सहरी विकास कार्यक्रम: बजेट अभावले कार्यान्वयनमा चुनौती
सुर्खेत: सघन सहरी विकास कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको छ । साविक कर्णालीका तीन जिल्लाका चार वटा पालिकामा गतवर्षबाट उक्त कार्यक्रम लागू भएको थियो ।
संघीय सरकारले झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै सघन सहरी विकासको योजना बनाएको हो । सोही योजना अनुरूप जुम्लाको चन्दननाथ नगरपालिका, कालीकोटको रास्कोट नगरपालिका र डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका र त्रिपुरा सुन्दरी नगरपालिकामा कार्यक्रम सुरु भएको छ । आर्थिक वर्ष २०७९/०८० बाट सुरु भएको कार्यक्रम बजेट अभाव हुँदा पूर्वाधार निर्माणका काम अघि बढ्न सकेका छैनन् । बजेट अभाव हुँदा नयाँ ठेक्का सम्झौता गर्न नसकिएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले जनाएको छ । आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काले चालु आर्थिक वर्षमा नयाँ ठेक्का लगाउन नसकिएको बताए । उनका अनुसार चार वटा पालिकाका गरी एक सयभन्दा बढी पूर्वाधार निर्माणका योजना अन्योलमा छन् ।
गत आर्थिक वर्षबाट जुम्लाको चन्दननाथ नगरपालिकामा सघन सहरी विकासको योजना सुरु भयो । उक्त वर्ष सरकारले १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त बजेट कार्यान्वयन भएन । बजेट फ्रिज भयो । अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता समयमा नै नहुँदा बजेट फ्रिज गएको हो । सघन सहरी विकास योजनाअनुसार नगरपालिकाको वडा नं. १, ४, ५, ६, ८ र १० मा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम बनाएर सडक स्तरोन्नति र कालोपत्रेसम्मको काम थालिएको छ । ६ वटा वडाका स–साना टुक्रे सडकका योजनालाई एकै ठाउँमा राखेर काम थालिएको थियो । तर अहिले बजेट अभावले सडक स्तरोन्नति तथा कालोपत्रेको काम अन्योलमा परेको हो ।
इन्जिनियर खड्काका अनुसार यो वर्ष सरकारले चन्दननाथमा योजना सञ्चालनका लागि तीन करोड बजेट मात्र विनियोजन गरेको छ । गतवर्ष नगरपालिकाको ६ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने स्टेडियम निर्माणको काम अघि बढेको छ । उक्त वर्ष डेढ करोड मात्र बजेट खर्च भयो भने अन्य बजेट फ्रिज गएको थियो ।
यस्तै डोल्पाको ठुलीभेरी नगरपालिका पनि सघन सहरी विकास कार्यक्रममा छनोट भयो । उक्त पालिका गत आर्थिक वर्षमा छनोटमा परेको हो । एकीकृत रूपमा आवश्यक पूर्वाधार निर्माणका लागि सरकारले आठ करोड बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयबाट ढिलागरी बजेटको स्रोत सुनिश्चितता हुँदा गतवर्ष बजेट कार्यान्वयन हुन सकेन । गतवर्ष नगरपालिकाको सडक कालोपत्रे र रंगशाला निर्माणको काम थालिएको थियो । सोही कार्यक्रमको निरन्तरताका लागि सरकारले चालु आर्थिक वर्षमा ६ करोड बजेट विनियोजन गरेको छ । गतवर्षको बहुवर्षीय योजनाको भुक्तानी दिनुपर्ने भएकाले यो वर्ष नयाँ ठेक्का सम्झौता हुन नसकेको हो ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा पूर्वाधार निर्माणका काम भइरहेका छन् । गतवर्षबाट सुरु भएको कार्यक्रम अन्तर्गत त्रिपुरा सुन्दरी मन्दिरको पार्क निर्माण, सडक कालोपत्रे, विभिन्न भवन निर्माणलगायतका काम भइरहेका छन् । गत वर्ष आयोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि आठ करोड बजेट विनियोजन भएकोे थियो । यो वर्ष सरकारले ६ करोड मात्र बजेट विनियोजन गरेको छ ।
कार्यक्रमअन्तर्गत कालीकोटको रास्कोट नगरपालिकाका ४५ वटा सटर निर्माण गरिएको छ । गतवर्ष सरकारले आठ करोड बजेट विनियोजन गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत एक किलोमिटर सडक कालोपत्रे भएको छ । चालु आर्थिक वर्षमा उक्त आयोजना निर्माणका लागि बजेट कटौती भएको छ । अघिल्लो वर्ष आठ करोड बजेट विनियोजन गरेको सरकारले यो वर्ष दुई करोड मात्र बजेट विनियोजन गरेको छ ।
कार्यक्रम कार्यान्वयनमा समस्या भएपछि थप बजेट माग गरिएको छ । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमका लागि अर्थ मन्त्रालयमा बजेट माग गरिएको हो । चार वटा पालिकाको छुट्टाछुट्टै रूपमा बजेट माग गरिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।
प्रकाशित मितिः १७ माघ २०८०, बुधबार ०५:०५
साझा बिसौनी ।