नयाँ सहर योजना

चौरजहारी नयाँ सहर आयोजना निर्माण कार्य अघि बढाउन जग्गा एकीकरणको काम तीव्र पारिएको छ । स्थानीयको नाममा रहेको जग्गा सरकारको नाममा सार्ने काम धमाधम अघि बढाइएको हो । माघ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले घारीगाउँ (चौरजहारी नयाँ सहर) जग्गा एकीकरण आयोजनाका लागि पाँच सय ८५ रोपनी जग्गा प्राप्त गर्न स्कीकृति प्रदान गरेको छ । स्थानीयको जग्गा सरकारको नाममा गरी एकमुष्ट बनाएर मुख्य तथा सहायक सडक निर्माणको काम सुरु गरिनेछ । चौरजहारी नगरपालिका वडा नं. १ स्थित घारीगाउँमा जग्गा एकीकरण कार्य सुरु भएको हो । आयोजनाका विभिन्न चरणका काम भइरहेका छन् । सरकारको निर्णयले काम गर्ने बाटो खुलेको छ । स्वीकृति प्रदान गरेको जग्गा एकीकरण गरेर पूर्वाधार निर्माणका काम थालिने छ । पूर्वाधार निर्माणको काम पूरा भएपछि सो जग्गा जग्गाधनीलाई फिर्ता गरिनेछ ।

रूकुमपश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण भइरहेका छन् । पहाडबाट तराईमा हुने बसाइसराइ रोक्न आर्थिक वर्ष २०६७÷०६८ सालबाट चौरजहारीलाई नयाँ सहरको रूपमा निर्माण गर्न सुरु गरिएको हो । २०७२ सालमा चौरजहारी नयाँ सहरको कार्यालय स्थापना गरेर काम सुरु भयो । नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदै गएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको छ । विभिन्न खण्ड बनाएर निर्माण कम्पनीमार्फत् सडक कालोपत्रे, ग्राभेल र ढल निकासको काम भइरहेको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाको ५२ प्रतिशत काम सम्पन्न भएको छ । अहिलेसम्म ५० किलोमिटर सडकको ट्रयाक खोलिएको छ । साढे सात किलोमिटर सडक कालोपत्रे भएको छ । यसका साथै पाँच सय ६५ वटा सौर्य बत्ती जडान, चार वटा विभिन्न भवन तथा एउटा बसपार्क निर्माणको काम सम्पन्न भएको जनाइएको छ । अहिले ढल, फुटपाथ र नाली बनाउने काम पनि जारी छ । न्यूनतम् सहरी सुविधा दिने गरी सहर बनाउने सरकारी योजनाअनुरूपको काम भइरहेको छ ।

२० वर्षे सहर निर्माणको योजनाअन्तर्गत काम थालेको १२ वर्ष पुग्यो । बजेट पर्याप्त नहुँदा कामले गति लिन सकेको छैन । बजेट अभाव हुँदा समयमै ठेक्का लगाउन नसकिएको, काम अपुरो हुनेगरेको, थप बजेट माग गर्नका लागि अर्थ मन्त्रालयमा धाइरहनुपर्ने लगायतका समस्या हुने गरेको हो । चालु आर्थिक वर्ष २०८०÷०८१ मा १७ करोड मात्र बजेट विनियोजन गरेको छ । जसले गर्दा काम गर्न समस्या हुने देखिन्छ । जबकी आयोजना निर्माण सम्पन्न गर्न दुई अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः   १७ माघ २०८०, बुधबार ०५:०३