कर्णालीमा गठबन्धनको जित

सुर्खेत: कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । बिहीवार भएको निर्वाचनमा तीनवटै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनबाट अन्य क्लस्टरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रूकुमपश्चिम), महिलातर्फ उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल (दैलेख) र दलिततर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्मा (कालीकोट) विजयी भएका हुन् ।

सहायक निर्वाचन अधिकृत उज्वल रावलका अनुसार रोकायाले तीन हजार आठ सय ७०, मल्लले तीन हजार सात सय २२ र विश्वकर्माले तीन हजार आठ सय १७ मतभार ल्याएका छन् ।

यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका अन्य क्लस्टरतर्फका डिल्लीप्रसाद भट्ट (मुगु) ले एक हजार दुई १४, महिलातर्फ विमला शाही (हुम्ला) ले एक हजार तीन सय ६२ र दलिततर्फ हिक्मतबहादुर विक (दैलेख) ले एक हजार दुई सय ६७ मतभार ल्याएका छन् ।

सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका रूकुमपश्चिमका रोकाया यसअघि दुइटा आम निर्वाचनमा पराजित भएका थिए । उनी पार्टीमा प्रदेश महामन्त्री छन् । दैलेखकी मल्ल यसअघि २०७४ को स्थानीय तह निर्वाचनबाट नारायण नगरपालिकाको उपमेयर बनेकी थिइन् । उनी अहिले नेकपा (एस) को केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज छिन् ।

कालीकोटका विक सुरूदेखि नै पार्टीको मोर्चा सम्हाल्दै राजनीतिमा सक्रिय रहेका थिए । उनी २०४९ को स्थानीय निकाय चुनावबाट साविक मालकोट गाविस अध्यक्ष बनेका थिए । अहिले विक माओवादी केन्द्रको केन्द्रीय समिति सदस्य तथा कालीकोट इञ्चार्जको भूमिका छन् ।

प्रकाशित मितिः   १२ माघ २०८०, शुक्रबार ०५:०१