कर्णालीको तेस्रो जित

सुर्खेत: प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित निकालेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको हो ।

मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याएको कर्णालीले २८ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । कर्णालीका लागि अर्जुन घर्तीले ५० रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै विपिन शाहीले २८ रन बनाउँदा हिमान्सु शाहीले २४ तथा निश्चल हावलले २१ रनको योगदान गरे । कोशीका लागि हेमन्त राईले तीन विकेट लिए । त्यस्तै कमल खत्रीले एक विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले ३४ ओभर तीन बलमा सम्पूर्ण विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । कोशीका लागि सुजन थपलियाले ७३ रनको अर्धशतकीय पारी खेले । ७३ बल खेलेका उनले आठ चौका र चार छक्का प्रहार गरे । त्यस्तै सुनज घिमिरेले १२ रन बनाउँदा आइस भटराईले ११ रन बनाउँन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कर्णालीका लागि दिपेश अधिकारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै प्रकाश जैशीले तीन विकेट लिँदा दिवन पुनले दुई विकेट लिए ।

प्रतियोगिता अन्तर्गत ६ खेल खेल्दा कर्णालीले तीनमा जित निकालेको छ भने तीन वटा खेलमा हार बेहोरेको छ । कर्णालीले कोशीसहित यसअघि गण्डकी र लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । मधेश, सुदूरपश्चिम र बागमती प्रदेशसँग भने पराजित भएको थियो । अब कर्णालीले तीन विभागीय टिमसँग खेल्न बाँकी छ ।

प्रकाशित मितिः   १० माघ २०८०, बुधबार ०५:०१