आवास निर्माण गर्न ७१ करोड निकासा

रूकुम–पश्चिम: रूकुम–पश्चिमका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि हालसम्म ७० करोड ८९ लाख ५० हजार रूपैयाँ निकासा गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका ६ वटा स्थानीय तहका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार हालसम्म २८ हजार ४३ जना लाभग्राहीको लागि पहिलो किस्ताबापतको उक्त रकम पठाइएको छ । पठाइएको सो रकमबाट स्थानीय तहले २२ हजार ६५ जना लाभग्राहीको खातामा ५५ करोड १६ लाख २५ हजार रूपैयाँ जम्मा गरिसकेका छन् । चौरजहारी नगरपालिकामा ६ हजार दुई सय ७९ जना लाभग्राहीका लागि १५ करोड ६९ लाख ७५ हजार रूपैयाँ पठाइएकोमा ६ हजार एक सय ६५ जना लाभग्राहीको खातामा २५ हजार रूपैयाँका दरले रकम जम्मा भइसकेको छ ।

त्यसैगरी, आठबीसकोट नगरपालिकामा नौ हजार सात सय ३२ जना लाभग्राहीको लागि २४ करोड ३३ लाख रूपैयाँ पठाएको छ भने नगरपालिकाले सात हजार सात सय २८ जना लाभग्राहीको खातामा १९ करोड ३२ लाख रूपैयाँ जम्मा गरिसकेको छ । मुसीकोट नगरपालिकामा एक हजार ६ सय ६० जना लाभग्राहीको लागि पठाएको चार करोड १५ लाख रूपैयाँमध्ये ६ सय ३५ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ ।

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय २१ जना लाभग्राहीका लागि १४ करोड ८० लाख २५ हजार रूपैयाँ पठाइएको छ भने गाउँपालिकाले चार हजार सात सय ८५ लाई पहिलो किस्ताको रकम दिइसकेको छ । त्रिवेणी गाउँपालिकामा दुई हजार सातसय ५२ जना लाभग्राहीका लागि जिल्ला विपद् कोषबाट प्राप्त छ करोड ८८ लाख रूपैयाँ सबै लाभग्राहीको खातामा पुगेको छ । बाँफीकोट गाउँपालिकामा एक हजार ६ सय ९९ जना लाभग्राहीका लागि पठाइएको चार करोड २४ लाख ७५ हजार रूपैयाँ कुनै पनि लाभग्राहीको खातामा पुगेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र गएको र नयाँ नआएकाले उक्त रकम लाभग्राहीले पाउन सकेका छैनन् ।

प्रकाशित मितिः   ७ माघ २०८०, आईतवार ०५:०१