कृषकलाई नोक्सान
कृषि उपजहरूको भण्डारणका लागि चिस्यान केन्द्र (कोल्डस्टोर) अपरिहार्य हुन्छ । तरकारी तथा फलफूल भण्डारण गर्न सकिने कोल्डस्टोर नहुँदा कृषकहरूले उत्पादन गरेका कृषि उपजबाट पर्याप्त लाभ लिन सकिरहेका छैनन् । कर्णाली प्रदेशका सल्यान र सुर्खेतका सुन्तला कृषक कोल्डस्टोर अभावकै कारण मनग्य आम्दानी गर्नबाट वञ्चित हुनुपरेको छ । चिस्यान केन्द्र निर्माण नहुँदा किसानले सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएका छन् । चिस्यान केन्द्रमा सुन्तला भण्डारण गरेर पछिसम्म बिक्री गर्न पाए धेरै आम्दानी गर्न सक्ने सम्भावना भएपनि त्यसो नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानहरूको गुनासो छ ।
सल्यान जिल्लाको बागचौर र शारदा नगरपालिका तथा सिद्धकुुमाख र त्रिवेणी गाउँपालिकामा सुन्तला धेरै उत्पादन हुन्छ । किसानले सस्तोमै सुन्तला बिक्री गरेको बताएका छन् । चिस्यान केन्द्रको अभावमा सुन्तला भण्डारण गर्न नसक्दा सिजनमै प्रतिकिलो ५० देखि ७० रूपैयाँमा सुन्तला बिक्री गर्न बाध्य छन् । चिस्यान केन्द्रमा सुन्तला भण्डारण गर्न सकेको भए चैत÷वैशाखमा दुई सय रूपैयाँमा बिक्री गर्न सकिन्थ्यो । चिस्यान केन्द्रको व्यवस्थापन नहुँदा सुर्खेत, बुटवल, भैरहवा, पोखरा, नारायणघाट, चितवन कैलालीबाट आएका व्यापारीले तोकेको मूल्यमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानहरूको भनाइ छ । सल्यानका चार वटा पालिकाका अधिकांश वडाबाट वार्षिक नौ करोड बढीको सुन्तला निर्यात हुने गरेको छ । चिस्यान केन्द्रको व्यवस्थापन भएको अवस्थामा हाल बिक्री भइरहेको सुन्तलाको मूल्यले तेब्बर बढी भाउ पाउने उनीहरू बताउँछन् । जिल्लामा नौ सय ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिन्छ । गत वर्ष ३३ करोडको सुन्तला जिल्लाबाट निर्यात भएको थियो । यस्तै, दैलेख जिल्लामा यसपटक पनि सुन्तला उत्पादन राम्रो भएको छ । जिल्लामा सात प्रतिशतले उत्पादन बढेको छ । गत वर्ष दैलेखमा ६ हजार तीन सय २३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको एक हजार सात सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । दैलेखको दुुल्लू सुन्तलाको पकेट क्षेत्र मानिन्छ ।
उत्पादित सुन्तलाले उचित मूल्य नपाउँदा कृषक चिन्तित छन् । उनीहरू चिन्तित हुनुको मुख्य कारण हो, चिस्यान केन्द्र नहुनु । सुन्तला पाकेको समयमा बजार र उचित मूल्य नपाएमा पनि चिस्यान केन्द्रमा भण्डारण गरेर पछिसम्म बिक्री गर्न सकिन्छ । तर चिस्यान केन्द्र नै नहुँदा बिक्री नभएको सुन्तला खेर जाने गरेका छन् । यसले कृषकलाई नोक्सान हुँदै आएको छ । त्यसैले सरकारले कृषि उपजको पकेट क्षेत्रहरूमा चिस्यान केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
प्रकाशित मितिः ७ माघ २०८०, आईतवार ०५:०३
सम्पादकीय ।