चिस्यान केन्द्र नहुँदा घाटामा कृषक

सस्तो मूल्यमै सुन्तला बिक्री गर्न बाध्य

सुर्खेत: सल्यानका किसानले ६ वर्षअघि सुन्तला भण्डारण गर्न चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापनाको माग गरेको भएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन । चिस्यान केन्द्र निर्माण नहुँदा किसानले सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएका छन् ।

चिस्यान केन्द्रमा सुन्तला भण्डारण गरेर पछिसम्म बिक्री गर्न पाए धेरै आम्दानी गर्न सक्ने सम्भावना भएपनि त्यसो नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानहरूको गुनासो छ । सल्यान जिल्लाको बागचौर र शारदा नगरपालिका तथा सिद्धकुुमाख र त्रिवेणी गाउँपालिकामा सुन्तला धेरै उत्पादन हुन्छ । किसानले सस्तोमै सुन्तला बिक्री गरेको बताएका छन् । चिस्यान केन्द्रको अभावमा सुन्तला भण्डारण गर्न नसक्दा सिजनमै प्रतिकिलो ५० देखि ७० रूपैयाँमा सुन्तला बिक्री गर्न बाध्य भएको बागचौर नगरपलिका वडा नं. ८ का किसान भरतनाथ योगीले गुनासो गरे । ‘चिस्यान केन्द्रमा सुन्तला भण्डारण गर्न सकेको भए चैत÷वैशाखमा दुई सय रूपैयाँमा बिक्री गर्न सकिन्थ्यो,’ उनले भने । कृषि विकास निर्देशनालय सुर्खेतमा चिस्यान केन्द्र स्थापनाका लागि पटक–पटक माग गरेपनि सुनुवाइ नभएको उनले बताए ।

गत वर्षको तुलनामा सुन्तला बिक्री कम मात्र भएको भन्दै उनले बारीमा लटरम्म सुन्तला फले पनि बजारको अभाव रहेको बताए । ४६ रोपनी जग्गामा नौ सय ५० सुन्तलाका बिरुवा रहेका छन् । गतवर्ष तीन सय २३ क्वीन्टल सुन्तला बिक्री गरेका योगीले यो वर्ष फाटफूटबाहेक बिक्री नभएको बताए । गएको वर्ष २७ लाख ३४ हजारको सुन्तला बिक्री गरेका थिए । सुन्तला उत्पादन धेरै भएपनि चिस्यान केन्द्र नहुँदा बर्सेनि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको उनले जनाए ।

चिस्यान केन्द निर्माणको सामूहिक रूपमा माग गरिएको भएपनि सुनुवाइ नभएको सोही वडाका दिपक चन्दले बताए । चित्तबुझ्दो भाउ नपाएकाले सुन्तला बिक्री कम मात्र गरेको उनी बताउँछन् । करिब २५ रोपनी जग्गामा उनले सुन्तला खेति गरिरहेका छन् । गतवर्ष सुन्तला उत्पादनबाट १८ लाख आम्दानी गरेका चन्दले यो वर्ष बिक्री नभएको बताए । उनले भने, ‘अहिले ६० देखि ८० रूपैयाँमा सुन्तला बिक्री भइरहेको छ । न्यून दरमा बिक्री गर्न बाध्य छौँ ।’ ९० देखि एक सय रूपैयाँसम्म सुन्तलाको मूल्य आफूहरूले तोकेको उनले बताए ।

चिस्यान केन्द्रको व्यवस्थापन नहुँदा सुर्खेत, बुटवल, भैरहवा, पोखरा, नारायणघाट, चितवन कैलालीबाट आएका व्यापारीले तोकेको मूल्यमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानहरूको भनाइ छ । सल्यानका चार वटा पालिकाका अधिकांश वडाबाट वार्षिक नौ करोड बढीको सुन्तला निर्यात हुने गरेको छ । चिस्यान केन्द्रको व्यवस्थापन भएको अवस्थामा हाल बिक्री भइरहेको सुन्तलाको मूल्यले तेब्बर बढी भाउ पाउने उनीहरू बताउँछन् ।

सल्यानमा सुन्तला उत्पादन धेरै भएपछि मूल्य भने घटेको छ । गत वर्ष सल्यानको सुन्तला प्रतिकिलो एक सय रूपैयाँमा बिक्री भएको थियो । यसपालि ७० रूपैयाँ केजीमा बिक्री गर्नुपरेको किसानहरूले बताएका छन् । बजारमा जतातत्तै सुन्तला उपलब्ध भएसँगै मूल्य घटेको उनीहरू बताउँछन् । कृषि विकास कार्यालयले माघको दोस्रो सातासम्म सुन्तलाको मूल्य प्रतिकिलो ९० रूपैयाँसम्म पुुग्ने अनुुमान गरेको छ । जिल्लाका चार वटा पालिका सुन्तलाको पकेट क्षेत्र हुन् । यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वसमेत बढेको कार्यालयका निमित्त प्रमुख रेशमकुमार बस्नेतले बताए । जिल्लामा नौ सय ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिन्छ । गत वर्ष ३३ करोडको सुन्तला जिल्लाबाट निर्यात भएको थियो ।

यस्तै, दैलेखको दुल्लू नगरपालिकाका किसानले समेत सुन्तलाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । वडा नं. ६ का कृषक लक्ष्मी खड्काले आफ्नो बारीको सुन्तलाले बजार नपाएको बताए । गतवर्षसम्म यो समयमा बोटबाट सुन्तला बिक्री भइसक्ने गरेको भएपनि यो वर्ष रुखमै रहेको उनको भनाइ छ । पुसको तेस्रो सातासम्म सुन्तला बिक्री भइसक्नुपर्ने भएपनि यो वर्ष बिक्री भएको छैन । सुन्तला खरिद गर्न व्यापारी नआउँदा थप समस्या भएको छ । एकातर्फ सुन्तलाको बजार छैन, अर्कोतर्फ न्यून मूल्य छ । सुन्तला ढिलागरी टिप्दा अर्कोवर्ष उत्पादन घट्ने गरेको उनले बताए ।

दैलेख जिल्लामा यसपटक पनि सुन्तला उत्पादन राम्रो भएको छ । जिल्लामा सात प्रतिशतले उत्पादन बढेको कृषि विकास कार्यालय दैलेखका प्रमुुख दशरथ पाण्डेले जनाए । गत वर्ष दैलेखमा ६ हजार तीन सय २३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको एक हजार सात सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेति हुन्छ । अझै पनि अपेक्षित उत्पादन भने हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका कृषि अर्थ विज्ञ झलक भण्डारी भन्छन्, ‘पकेट क्षेत्रमा नै अपेक्षित गरेअनुसार सुन्तला उत्पादन भइरहेको छैन ।’ दैलेखको दुुल्लू सुन्तलाको पकेट क्षेत्र मानिन्छ । त्यहाँ सोचेअनुरूप उत्पादन नभएको हो ।

प्रकाशित मितिः   ६ माघ २०८०, शनिबार ०५:०५