छोराको हत्या गरेर भागेका बाबु पक्राउ
सुर्खेत: छोराको हत्या गरेर भागेका बाबु पक्राउ परेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बाबु ४५ वर्षीय नयाँराम बुढा बिहीवार टिकापुर–१, लम्किपुरबाट पक्राउ परेका हुन् ।
फरार रहेका बुढालाई खोज्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टिकापुर गएको थियो । मोबाइल लोकेसनका आधारमा टिकापुर पुगेको अनुसन्धानको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए । घटना भएको दिनदेखिनै सम्बन्धित नाकाहरूमा प्रहरी परिचालन गरिएको थियो । भारततर्फ जाने तयारी गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।
सोमवार राति बन्चरो प्रहार गरेर आफ्नै छोराका हत्या गरेको जनाइएको छ । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा नयाँरामले छोराको हत्या गरेको स्वीकार गरेका छन् । उनीविरुद्ध छोरीलाई बलात्कार गरेको जाहेरी समेत परेको छ । गत कार्तिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आई मामा घरमा रहेकी छोरीलाई बोलाएर बलात्कार गरेका थिए ।
बुबाबाट बलात्कृत भएको कुरा बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरी स्रोतकाअनुसार प्रहरीले जाहेरी परेपछि नयाँरामले छोराको हत्या गरेका हुन् ।
प्रकाशित मितिः ५ माघ २०८०, शुक्रबार ०८:३०
साझा बिसौनी ।