पीएम कपमा कर्णालीको पहिलो हार
सुर्खेत: प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश पराजित भएको छ । प्रतियोगितामा विजयी सुरुवात गरेको कर्णाली दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग पराजित भएको हो ।
मंगलवार भएको खेलमा दुई सय ७८ रनको लक्ष्य पछ्याएको कर्णालीको प्रदर्शन निकै कमजोर रह्यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । उसका लागि तीन खेलाडीले अर्थसतकीय इनिङ खेले । खडक बोहोराले ८० रन बनाउँदा टेक रावतले ५९ र किरन ठगुन्नाले ५० रनको योगदान दिए । कर्णालीका लागि दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दिपेन्द्र रावतले एक÷एक विकेट लिए ।
दुई सय ७८ रनको लक्ष्य पछ्याउँदा कर्णालीको सुरुवात नै राम्रो हुन सकेन । ओपनर तथा कप्तान रविन्द्रजंग शाही १८ बलमा तीन रन मात्रै बनाएर आउट भए भने अर्का ओपनर विपिन शाहीले नौ रन मात्रै बनाउन सके । त्यसपछि अर्जुन घर्ती र हिमांशु शाहीले साझेदारी बनाउने प्रयास गरेपनि लामो समय मैदानमा टिक्न सकेनन् । घर्ती ४६ बल खेल्दै २४ रन बनाएर आउट हुँदा शाहीले ३६ बल खेलेर १७ रन मात्रै बनाए । त्यसैगरी दिवान पुनले ३८ र दिनेश अधिकारीले २० रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन ।
प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा भने कर्णालीले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । प्रतियोगितामा सात वटा प्रदेश र तीन विभागीय टोलीहरू सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
प्रकाशित मितिः ३ माघ २०८०, बुधबार ०५:०१
साझा बिसौनी ।