चौँरीपालनलाई व्यावसायिक बनाउन पहल

कृषकलाई मासिक अनुदान दिइने

सुर्खेत: हिमाली क्षेत्रमा चौँरीपालनलाई व्यावसायिक बनाउन प्रदेश सरकारले किसानलाई सघाउने भएको छ । चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चौँरीपालन व्यवसायमा आकर्षित गर्ने कार्यक्रम सुरु गरेको हो ।

मन्त्रालयले चालु आर्थिक वर्षदेखि हिमाली जिल्ला डोल्पा, मुगु र हुम्ला जिल्लामा कार्यक्रम सुरु गरेको छ । दशभन्दा बढी चौँरी पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । हिमाली क्षेत्रका बासिन्दाको जीविकाको प्रमुख माध्यमका रूपमा रहेको चौँरीको संख्या बढाउन प्रदेश सरकारले चौँरी प्रोत्साहन कार्यक्रम सुरु गरेको हो । चौँरीको संख्या घट्दै गएर हिमाली क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत गुम्न थालेपछि यस क्षेत्रका बासिन्दाको पेसा परिवर्तन र बसाइसराइँ रोक्न मन्त्रालयले यस्तो कार्यक्रम सुरु गरेको हो ।

मन्त्रालयले पहिलो चरणमा तीन जिल्लामा ‘पाइलट प्रोजेक्ट’ का रूपमा कार्यक्रम सुरु गरेको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको मुख्य पेसाका रूपमा रहेको चौँरी व्यवसाय प्रत्येक वर्ष घट्दो क्रममा छ । स्थानीयको पुर्खौली यो पेसा र व्यवसायमा युवा पुस्तालाई आर्कषित गरी आत्मनिर्भर बनाउन घाँस र औषधीमुलोसहित चौँरी उत्पादनको प्याकेज कार्यक्रम सुरु गरिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार दश भन्दा बढी चौँरी पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले अनुदान दिइनेछ । उनले भने, ‘औषधि र घाँसको अभाव पूर्तिका लागि मन्त्रालयले मासिक १५ सयका दरले वार्षिक १८ हजार प्रतिकृषकलाई उपलब्ध गराउनेछ । त्यसका लागि दश वटा भन्दा बढी चौँरीपालक किसानलाई छनोट गरिनेछ ।’

यो वर्ष मन्त्रालयले हुम्लामा भेडा र चौँरी प्रोत्साहन कार्यक्रमका लागि २० लाख तथा मुगुमा ३७ लाख बजेट जिल्ला पशु सेवा कार्यालयमा पठाएको छ । यसैगरी डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकालाई भने मन्त्रालयले छुट्टै चौँरी ब्लक क्षेत्रको रूपमा अघि बढाएको छ । ब्लक निर्माणका लागि ३० लाख रूपैयाँ विनियोजन गरिएको छ । सो क्षेत्रमा व्यावसायिक चौँरी उत्पादन गरी संख्या बढाउन मन्त्रालयले ब्लक कार्यक्रम सुरु गरेको हो ।

मुगुमा दश जना चौँरीपालक किसानले प्रोत्साहन अनुदानका लागि प्रस्ताव पेस गरेको पशु सेवा कार्यालय मुगुले जनाएको छ । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका चौँरी पालनका लागि उपयुक्त स्थान रहेको छ । मुगुमा १४ वटा चांैरीका फर्म दर्ता भएको कार्यालयका सूचना अधिकारी पदम केसीले जानकारी दिए । उनका अनुसार प्रस्ताव पेस गरेका कृषकहरूको फिल्ड अनुगमन प्रतिवेदन तयार गर्नका लागि प्राविधिक टोलि परिचालन गरिएको छ । पछिल्लो समय सामुदायिक वन र किपटको रूपमा ठुलाबडाले खर्क आफ्नो नाममा रोक्ने गरेकाले चौँरीपालनमा खर्कको प्रमुख समस्या देखिएको छ । पशु सेवा केन्द्र र पशु प्राविधिकको पहुँच यस क्षेत्रका किसानसम्म नभएकाले चौँरी बिरामी पर्दा जंगली जडिबुटीबाटै उपचार गरिँदै आएको मुगुका कृषक जनक केसीले बताए ।

पशु सेवा कार्यालय हुम्लाले पनि चौँरीपालक कृषको तथ्यांक संकलन गरिरहेको छ । हुम्लाको सिमकोट र नाम्खा गाउँपालिका चौँरीपालनका लागि उपयुक्त क्षेत्र रहेको कार्यालयले जनाएको छ । अहिले कृषकको तथ्यांक संकलन भइरहेको कार्यालय प्रमुख कृष्ण रोकायाले जानकारी दिए । दशभन्दा बढी चौँरी पाल्ने कृषकलाई आवेदन दिन सूचना प्रकाशित गरिएको उनको भनाइ छ । उनले भने, ‘केही कृषकले आवेदन दिन थाल्नुभएको छ । अहिले तथ्यांक संकलनको काम भइरहेको छ ।’

उनका अनुसार सिमकोट गाउँपालिका वडा नं. १, ३, ४ र नाम्खाको वडा नं. १, २, ३ र ४ वडा चौँरीपालनका लागि उपयुक्त मानिएको छ । हिमाली क्षेत्रका बासिन्दाले दूध, छुर्पी, मासु, छाला र सामान ढुवानी गराउने प्रयोजनका लागि चौँरी पालन गर्दै आएका छन् । यसबाटै उनीहरूले जीविकोपार्जन गर्दै आएका छन् ।

प्रकाशित मितिः   २८ पुष २०८०, शनिबार ०५:०५