राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई

सुर्खेत: ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । साविक विजेता नेपाल एपीएफ क्लबको पराजित गर्दै पुलिस क्लब च्याम्पियन बनेको हो ।

बिहीवार वीरेन्द्रनगरमा भएको फाइनलमा पुलिसले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको तीन सेटमा लगातार जितेर उपाधि हात पार्न सफल भयो । पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्यायो । त्यसपछि तेस्रो सेट पनि २५–१८ ले जित्न सफल भयो भने चौथो सेटमा पनि पुलिसले २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै पुलिसले एक लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

बिहीवार नै विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।

च्याम्पियन नेपाल पुलिस क्लबका स्पाइकरद्धय रविन चन्द र युवा स्टार पहल गहतराज प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा उदियमान खेलाडी घोषित भएका छन् । रविन सर्वाेत्कृष्ट तथा पहल उदियमान खेलाडी घोषित भएका हुन् । पुलिसलाई च्याम्पियन बनाउन यि दुई खेलाडीले सानदार प्रदर्शन गरेका थिए । रविनले समूह चरणको तुलनामा सेमिफाइनल र फाइनलमा सानदार प्रदर्शन गरेका थिए ।

सर्वाेत्कृष्ट खेलाडी बनेका रविनले ट्रफीसँगै १० हजार रूपैयाँ प्राप्त गरे । उदियमान खेलाडी पहलले ट्रफीसँगै पाँच हजार रूपैयाँ हात पारे । पुलिसकै कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिए । उनीहरूले समान पाँच हजार रूपैयाँसँगै ट्रफी हात पारे ।

प्रकाशित मितिः   २७ पुष २०८०, शुक्रबार ०५:०१