अस्पताल नै बेवास्तामा

सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पु¥याउनका लागि सुरु गरेको अभियानमा कर्णालीका २५ स्थानीय तह सहभागी भएका छैनन् । जग्गाको टुँगो नलाग्दा अस्पताल निर्माणको प्रक्रिया नै अगाडि बढ्न नसकेका हुन् । संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने लक्ष्य अनुसार कर्णालीमा तीन वर्षअघि शिलान्यास गरिएका अधिकांश भवन अझै अपुरै छन् । कतिपय पालिकामा भवन निर्माण पूर्वका प्रक्रियागत काम नै हुन सकेका छैनन् ।

पहिलो चरणमा आर्थिक वर्ष २०७७.०७८ मा पाँचदेखि १५ शैय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएका थिए । त्यस्तै, दोस्रो चरणमा आर्थिक वर्ष २०७८/०७९ मा सोही क्षमताका थप २७ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६९ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म ४४ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार तीमध्ये धेरैजसो भवनको निर्माण कार्य प्रगति पनि सुस्त छ । डिपीआर निर्माण र जग्गाको समस्याका कारणले २५ आधारभूत तहका अस्पताल निर्माणको काम सुरु हुन नसकेको हो । अस्पताल भवन निर्माणका लागि जग्गाको मापदण्ड संघीय सरकारले तोकिदिएको छ । केही पालिकाले उक्त मापदण्डअनुसारको जग्गा नै पाउन सकेका छैनन् । भवन निर्माण स्थलको टुँगो लागेका कतिपय ठाउँमा अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण भएको छैन । कैयन् निर्माणाधीन भवनको जग हालेर त्यतिकै छाडिएको अवस्थामा छन् ।

संघीय सरकारले तीन वर्ष पहिले देशभर एकैसाथ तीन सय ९६ अस्पताल निर्माणको योजना सुरुवात गरेको थियो । तर पालिकाहरूले समयमै अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन नसक्दा उपलब्ध बजेटसमेत फ्रिज गएको छ । कर्णालीमा आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि पहिलो चरणमै संघीय सरकारले ५२ करोड ७६ लाख २० हजार बजेट विनियोजन गरेको थियो । जसअन्तर्गत पाँच शैय्याका लागि ७० लाख, १० शैय्याका लागि ८५ लाख र १५ शैय्याका अस्पताल भवन निर्माण गर्न सम्बन्धित पालिकामा एक करोड बजेट पठाइएको थियो । दोस्रो चरणमा छनोट भएका स्थानीय तहमा पनि सोही आधारमा रकम पठाइएको छ । स्थानीय सरकारले पनि आधारभूत अस्पताल निर्माण योजनालाई आफ्नो प्राथमिकतामा नराखेको देखिन्छ । सुरुवात गरिएका योजना कार्यान्वयनका लागि तीनवटै तहका सरकारको प्राथमिकता अपरिहार्य हुन्छ । जग्गाको टुँगो लगाएर भवन निर्माणका लागि कदम चाल्नु अनिवार्य छ ।

प्रकाशित मितिः   २७ पुष २०८०, शुक्रबार ०५:०३