कर्णालीका लागि २४ पदमा विज्ञापन आह्वान

सुर्खेत: प्रदेश लोक सेवा आयोगले रिक्त रहेका पदका लागि विज्ञापन खोलेको छ । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदका लागि आयोगले विज्ञापन खोलेको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन खोल्दै आयोगले प्रशासन तथा लेखा समूहका २४ पदमा आवेदन आह्वान गरेको छ । खुला प्रतिस्पर्धाअन्तर्गत प्रशासन सहायकमा चार जना, लेखा सहायकमा एक जना, लेखापाल एक जना र आन्तरिक लेखा परीक्षक एक जनाको लागि दरखास्त आह्वान गरिएको छ ।

यस्तै समावेशीतर्फ महिलामा प्रशासन सहायक पाँच जना, लेखा सहायक एक जना र आन्तरिक लेखा परीक्षक ६ जनाका लागि दरखास्त माग भएको छ । समावेशीतर्फ नै आदिवासी जनजातिमा प्रशासन सहायक पदमा पाँच जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १५ गतेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ । परीक्षा आगामी चैत २ गते हुने छ ।

प्रकाशित मितिः   २५ पुष २०८०, बुधबार ०५:०१