तिमी मेरो आकाश बन्न सक्छ्यौ ?

भुवी र सुवी दुई मिल्ने साथी । दुःख र सुःखका सहयात्री । एकआपसका खुसी र पीडाका चौतारी । भनिन्छ, केटा र केटी कहिल्यै साथी हुन सक्दैनन् । वास्तविकता पनि त्यही हो । विपरित ध्रुवहरू आकर्षण हुन्छन् नै । नजिक राखेर पनि टाढा बस्नु असम्भव जस्तै छ । उनीहरूको बाहिरी नाता साथीको । मनमा प्रेमको बिज उम्रिसकेको थियो । टुसाएर हाँगा पलाइसकेको थियो ।
एक दिन भुवी र सुवी साथमा गाउँबस्ती, पहाड, खोला छिचोल्दै हिउँले सेताम्मे हिमालको अगाडि टक्क अडिए । हिउँ च्यादरले ढपक्क ढाकेको हिमाल । कहिँकतै पग्लिदै गरेका हिउँका काँडाहरू । हिमालको हिउँले जताततै उज्यालो बनाएको । हिमालको पैतालादेखि बगेको शान्त प्रिय नदी । दुई प्रिय मान्छेहरू । सुन्दरतामा रमाए । भुवीले मुस्कुराउँदै भने, ‘सुवी, यो हिमाल र आकाशमा कुनै सम्बन्ध होला ?’
सुवी ः (मुस्कानका साथ) छैन होला !
भुवी ः के हिमाल र आकाशको कहिल्यै भेट हुन्छ होला ?
सुवी ः तिमीलाई पनि थाहा छ नि कहिल्यै हुँदैन् ।
भुवी ः के हिमाल र आकाशबीच प्रेम होला ?
सुवी ः (दिक्क मानेको भावमा) असम्भव तर यो सब के सोधिराको ?
भुवी ः सुवी तिमीलाई मात्रै होइन, सबैलाई यस्तै लाग्छ । हिमाल र आकाशबीच कुनै सम्बन्ध छैन तर हेरन, यो हिउँबिना हिमाल कस्तो होला ? कल्पना गर त छालाबिनाको हाड जस्तो, बोक्राबिनाको रुख जस्तो । रुखो नाँगो कुरूप । नाँगो कालो पहाडलाई त्यो निलो आकाशले प्रेमरूपी हिउँका पुष्प गुच्छाहरूले ढपक्क ढाकेर सुन्दर बनाइदिएको छ । आकाश कति महान प्रेमी जो आफू रित्तिएर पहाडलाई प्रेम वर्षाइरहेको छ ।
सुवी, अझै लाग्छ तिमिलाई यी दुईबीच कुनै सम्बन्ध छैन ? पहाड पनि त आकाशको प्रेमलाई सङ्गालेर गर्वका साथ ठाडो उभिएको छ । निरन्तर अविछिन्नरूपमा आकाशले प्रेम वर्षाइरहँदा हिमाल झन्–झन् मुस्कुराउँछ । चाँदी झै टलक्क टल्किन्छ । विश्व शान्तिको दूत जसरी विश्वलाई आकर्षित गराउँछ । आकाशको त्यो प्रेमले हिमाल सबैको प्रिय छ । सुन्दर छ । मनमोहक छ । आकाशको प्रेम कृपाले हिमाल देखेर कसको फोटोग्राफी जाग्दैन र । कसको क्यामेरामा ऊ कैद हुँदैन !
यी दुईका प्रेमिल दुश्मन पनि नभएका होइनन् । सूर्यले घामका तिखा वाणहरू प्रहार गरिरहँदा । सूर्यका तिखा किरणहरूले हिमाल र आकाशको प्रेमको तह पग्लिन्छ । आगोको छेउमा घ्यू परे जसरी । हिमाल र आकाशको प्रेमलाई पगालेर प्रेम तह पातलिदा सम्बन्धमा रत्तिभर फरक पर्दैन । बरु दुईका प्रेम पग्लियर ठूला खोला र साना खहरेहरू बनेर बग्दछन् । सुन्दर सेतो प्रेम पग्लियर कुनै रङ्ग नभएको पानि धेरै प्यासीहरूको प्यास मेटाउँदै भोगीहरूको जिन्दगी बन्दै निरन्तर बगिरहन्छ । जसले दुनियाँको पापकर्म बोकेर हिँड्छ । आकाश र हिमालका प्रेमका निशानी खोलाहरू बगेर विशाल समुन्द्रमा परिणत हुँदा समेत कसैलाई शंका हुदैन, आकाश र हिमाल प्रेममा छन् ।
आकाश प्रेममा आजित भएर, रिसाएर नबोलेर हिउँ नखसालिदिए, हिमालको हालत कस्तो होला ! टुहुरो जस्तो । बेवारिसे जस्तो । घृणाको टाकुरोजस्तो । बाटोमा फालिएको पैसाबिनाको पर्स जस्तो । तर पनि प्रेमरूपी हिउँहरू पग्लिरहँदा आकाशले सम्बन्ध सकिन दिँदैन । प्रेम पग्लिरहँदा आकाशले प्रेम स्वरूप हिउँका पुष्पहरू निरन्तर पठाइरहन्छ । निरन्तरको प्रेमले हिमाललाई प्रेमको अभाव हुँदैन । हिमाल पनि मुस्कुराउन छोड्दैन । न उसको प्रेमले आजित हुन्छ । उसको प्रेमले नै हिरा झै टल्किएर दुनियाँलाई लोभ्याउँछ । आकाशको प्रेमको भरोसामा हिमाल कति निर्धक्कका साथ सबैको सामु गर्वका साथ उभिएको छ । जसरी किताबको बोझ दिमागले बोकेर झोला हल्किएको छ । अझै पनि कसैलाई सानो भनक समेत हुन दिदैनन् हिमाल र आकाश प्रेममा छन् ।
आकाश रिसले चुर भएर कालो बन्दै मडारियर हिमालको सामुन्ने शान्त बन्दै हिमाललाई चुमिदिन्छ । आहा, त्यो प्रेमले मलाई पनि कति पटक डाहा लाग्छ । आकाश पूर्णरूपमा प्रेम बर्षाएर आफु रित्तिएर शान्त भएर फर्कदा समेत दुनियाँलाई थाहा हँुदैन, हिमाल र आकाश प्रेममा छन् ।
अन्धकार रात गड्याङगुडुङ आवाजमा दुनियाँलाई भुलाएर हिमाल र आकाशले झिलिक्क फोटो खिच्दासमेत हामि बेखबर छौँ । तुवालोले हिमाललाई ढाकेर हिमाल र आकाशको अङ्कमालमा पनि दुनियाँ चिर निन्द्रामा हुन्छ । उनीहरूको अबिरल सम्बन्ध । अहिले पनि हेरन सुवी, त्यो आकाश कसरी त्यो हिमालको शिरमा शिर अडाएर बसेको छ । लाग्छ हिमाल हुँदैन थियो त आकाश भुइँमा खसिसकेको हुन्थ्यो । विस्वासको डोरी पातलो हुन्छ जति बेला पनि चुडिन सक्छ तर हेरन उनीहरू एकअर्कामा कति विस्वस्त छन् । कहिल्यै छुट्दैन, कहिल्यै टुट्दैन, कसैलाई थाहासमेत हुन दिँदैनन् ।
सुवी, कस्तो अचम्मको प्रेम है यि दुईबीच । प्रेम छ, थाहा कसैलाई छैन । एकले अर्कोलाई चोट पु¥याउँदैन । एकले अर्कोलाई उत्तिकै प्रेम गर्दछन् । एकले अर्कालाई सम्मान गर्छन् । बुझ्छन् । एकअर्काविना अपुरो छन् । अझै एकअर्काविना अस्तित्वमै छैनन् । सुवी, प्रेम होस् त हिमाल र आकाशको जस्तो सजिलै हात नसमाओस्, समातेको हात सजिलै नछोडोस्, मजबुत होस् ।
सुवी ः हो रहेछ, कति गहिरो कति पवित्र अनि कति गोप्य प्रेम । त्यो समय ति दुईबीच प्रेमिल बन्यो र यसैको मौका हेरेर भुवीको मनमा प्रेमको बाढी चल्यो, आफुलाई रोक्न सकेन र भनिहाल्यो ।
भुवी ः त्यसो भए प्रिय सुवी, के तिमी मेरी आकाश बन्न सक्छ्यौ ?
सुवीले हुन्छ भन्ने मनोभावले मुस्कुराउँदै भुवीको अँगालोमा बेरिन पुगिन् । भुवीले सुवीलाई अड्याउन नसक्दा भुवी भुइँमा लडे । ब्युँझदा उनी विस्ताराबाट खसेका रहेछन् । कति मिठो सपना देखेछु भन्दै पुनः त्यही सपनाको पर्खाइमा सुते ।
प्रकाशित मितिः २१ पुष २०८०, शनिबार ०७:५०
साझा बिसौनी ।