विपद्को बेला युवा संघको स्वयमसेवा

१७ कार्तिक, २०८० को मध्यरात । मस्त निन्द्रामा थिएँ । एक्कासी घर नै हल्लिएजस्तो भयो । निन्द्रामा मग्न भएको बेला एकाएक पृथ्वी नै काँपेपछि ब्युँझिएँ । सुरूमा त के भएको हो भन्ने मेसो नै पाइनँ । सपना हो या विपना !

आँखा मिच्दै उठेँ । लगत्तै सिरानी नजिक रहेको मोबाइलमा टिङ–टिङ म्यासेजको आवाज आयो । मोबाइल हेरेँ, भूकम्प गएको खबर थियो । जाजरकोटको बारेकोटस्थित रामीडाँडा केन्द्रविन्दु भएर राती ११ः४७ मा ६.४ रेक्टरस्केलको भूकम्प गएको रहेछ ।

म घर बाहिर निस्कँे, त्यतिञ्जेल छर–छिमेकीहरू सडकमा जम्मा भइसकेका थिए । विपत्का बेला घर नै असुरक्षित हुने रहेछ ! भूकम्पले हल्लाएपछि ज्यान जोगाउन सबै बाहिर निस्किएका थिए । मनमा एकतमासको डर लागिरह्यो, मध्यरातमा आएको विपत्तीले जाजरकोटमा के हालत बनायो होला ? जहाँ भूकम्पको केन्द्रविन्दु थियो ।

मध्यरातको १२ः०० बजे फेसबुकलगायतका सामाजिक सञ्जालहरू अपुष्ट सूचनाले भरिएका थिए । छिमेकी जिल्लामा समेत भूकम्पको ठूलै धक्का महशुस भएकाले जाजरकोटमा धेरै जनधनको क्षति भएको हुनसक्ने अड्कलबाजीहरू भइरहेका थिए । राति १–२ बजेतिर केही आधिकारीक समाचारहरू पनि आउन थाले । जिल्लाभरको अवस्था थाहा नभएपनि कतिपय ठाउँमा घरहरू भत्किँदा च्यापिएर मानिसहरूको मृत्यु भएको र अन्यत्र सञ्चार सम्पर्क हुन नसकेको समाचारहरू थिए ।

भूकम्पले घर हल्लाएको थियो, असमञ्जस्यताले मन हल्लाइरह्यो । त्यसपछि निन्द्रा पनि परेन । म रातभर जागाराम बसिरहेँ । बिहान समाचारहरू हेरियो, नभन्दै जाजरकोट र रूकुम–पश्चिममा ठूलो मानवीय क्षति भएछ, हजारौँ घरहरू भत्किएछन् । पशुचौपाया र अन्य भौतिक संरचनाहरूमा उस्तै क्षति भएछ । पछिल्लो तथ्यांकअनुसार भूकम्पमा परी जाजरकोट र रूकुम–पश्चिमका गरी कूल एक सय ५४ जनाको ज्यान गयो । भूकम्पमा परी नौ सय ३४ जना बढी मानिसहरू घाइते भएको विवरण छ । भूकम्पका कारण पश्चिम नेपालका धेरै जिल्लाहरूमा पनि आंशिक असर परेको छ ।

केही समययता देश आर्थिक संकटमा छ । बेरोजगारी समस्याका कारण युवाहरू विदेशीने क्रम दिनदिनै बढ्दो छ । झन्डै एक वर्षअघि स्थानीय, प्रदेश र संघको निर्वाचन भएपछि देशमा नयाँ आशाको सञ्चार हुँदैथियो । मुलुकको अर्थतन्त्र र राजनीति सही दिशामा जाने अपेक्षा गरिएका बेला अर्को विपत्ती आइलाग्यो ।

कार्तिक महिना चाडपर्वको समय थियो, विजयादशमीको समापनपछि घर–आँगनमा तिहार भित्रने तर्खरमा थियो । देशले क्रिकेट खेलबाट विश्वमा नाम चिनाउँदै थियो, जताततै क्रिकेटको माहोल थियो । त्यो खुसी र उमंगलाई भूकम्पको एक झट्काले उडाइदियो । भूकम्प पछिको क्षतिले जाजरकोट र रूकुम–पश्चिम मात्रै रोएनन्, सिँगो देश नै शोकमा प¥यो ।

घाइतेको सहारा बन्दा…

भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि अब तत्कालकोे काम राहत, उद्दार र घाइतेहरूको उपचार थियो । तत्कालै जाजरकोट जाने सोच नबनाइएको होइन तर घाइतेहरूलाई उपचारका लागि वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा ल्याइने भएपछि उता जानुभन्दा उनीहरूको उपचारमा सहयोग गर्न अस्पतालमा केन्द्रित हुनुपर्ने अवस्था आयो । म आफैँ स्थानीय जनप्रतिनिधि र नेकपा ‐एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुर्खेत जिल्ला अध्यक्ष भएकाले पनि अस्पतालमा ल्याइएका घाइते र उनीहरूका आफन्तको व्यवस्थापनका काममा अगुवाइ गर्नुपर्ने दायित्व ठानेँ ।

भूकम्पको भोलिपल्ट, १८ गते बिहान झिसमिसेमै म घरबाट निस्किएँ । सबैतिर बुझ्दा अधिकांश घाइते प्रदेश अस्पतालमा ल्याउन लागिएको थाहा पाएँ । अस्पतालमा रगतको अभाव हुनसक्ने आकंलन गरेर राष्ट्रिय युवा संघका साथीहरूले सल्लाह गरी रक्तदानका लागि सबैलाई आह्वान गर्ने तरखर गर्दै थियौँ । रेडक्रसलगायतका संघ–संस्थाले पनि वीरेन्द्रनगरको पिपल चौतारामा रक्तदानको व्यवास्था मिलाएको थाहा पाएपछि हामीले सोही कार्यक्रमलाई सघायौँ । प्रदेश अस्पतालमा जाजरकोटबाट घाइतेहरू ल्याएर धमाधम एम्बुलेन्स आउन थाले । म लगायत राष्ट्रिय युवा संघका साथीहरू स्वयम्सेवामा जुट्यौँ । मानवताको भावका साथ हामीले स्टेचर समाउँदै घाइतेलाई बेडमा राख्ने र उपचारका क्रममा आवश्यक अन्य समन्वयको काम ग¥यौँ ।

अस्पतालमा घाइतेहरू आउने क्रम जारी थियो, उनीहरूलाई उपचारका लागि इमरजेन्सीमा बेडको प्रबन्ध मिलाउने तथा एक्सरे रुम र वार्डसम्म लग्नका लागि हामी सहारा बन्यौँ । त्यसका साथ–साथै खासगरी हामीले घाइतेहरूको मनोबल उच्च बनाउने काममा ढाडस दियौँ । उपचारसँगै उनीहरूको खाना र लत्ता कपडाका लागि समन्वय गर्नु हाम्रो अर्को महŒवपूर्ण काम थियो ।

त्यहीँ बीचमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालसहितको टीम अस्पतालमा पुगेर हामीले गरिरहेको काम स्रहानीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँहरूले सबै निकायसँग आवश्यक समन्वय गरेर घाइतेहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रमुख ढकालले सर्वदलीयसँगै जिल्ला विपद् समितिको बैठकमा वीरेन्द्रनगर नगरपालिकाले बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्ने निर्णय भएको कुरा जानकारी दिनुभयो ।

१९ गते सुर्खेत उद्योग वाणिज्य संघलगायत अन्य संघ–संस्थाहरूले पनि घाइते बिरामीलाई लत्ताकपडा उपलब्ध गराउने जानकारी दिए । हामी २४सैँ घण्टा घाइतेको उपचार र अन्य व्यवस्थापनमा खटिरह्यौँ । घाइतेहरूका समस्या सुन्नु र त्यसको समाधानका लागि पहल गर्नु हाम्रो दिनचर्या बन्यो । कैयन् दिन भोको पेट र कति रात अनिदो बसेर हामी घाइतेहरूको सेवामा निरन्तर लाग्यौँ । सेवा गर्नु हाम्रो टिमको दिनचर्या नै बन्यो । घाइतेहरूको चोटमा मलम लगाउने काममा खटिदा उनीहरूको मात्र चिन्ता र चासो हुन थाल्यो ।

दैनिकजसो सुरूमा कुरुवालाई भेटेर घाइतेहरूको अवस्था सुधारात्मक भए–नभएको बुझेर त्यसपश्चात् घाइते तथा कुरुवालाई नास्ताको व्यवस्थापन गरिन्थ्यो । चिकित्सकहरूको सल्लाहअनुसार घाइतेहरूलाई प्रोटिनयुक्त खानेकुरा आवश्यक भएकाले हामीले चना, अण्डालगायतको व्यवस्थापनमा बढी जोड दिएका थियौँ । स्वयम्सेवामा खटिदा घाइते र कुरुवासँग आत्मियरूपमा निकै निकट भएका थियौँ । प्रदेश अस्पतालमा जति पनि भूकम्पका घाइतेहरू ल्याइन्थ्यो ती सबैलाई हामीले सक्दो सहयोग ग¥यौँ । घाइतेहरू निको भएर घर फर्कदा मन खुसी हुन्थ्यो ।

उपचारपछि निको भएका र उनीहरूका कुरुवाका लागि सुर्खेतस्थित संयुक्त यातायातबाट निःशुल्क आवत–जावत गर्ने व्यवस्था मिलाइएको थियो । संयुक्त यातायातका प्रतिनिधि पवन श्रेष्ठले बिरामीको बेडमा गएर नै टिकट उपलब्ध गराउने गर्नुभएको थियो । यसबीचमा घाइतेहरूको अवस्था बुझ्न र उपचारका लागि पहलकदमी गर्न नेकपा ‐एमाले)का नेता यामलाल कँडेल २२ गते बिहान ६ः३० बजे प्रदेश अस्पताल पुग्नुभएको थियो । अहोरात्र खटिएर हामीले स्वयम्सेवा गरिरहँदा जाजरकोट, रूकुमपश्चिम र दैलेखको गुराँस गाउँपालिकाबाट गरी उपचारमा आएका ५२ जनामध्ये रूकुमपश्चिमको चौरजहारी नगरपालिकाका एक जना घाइतेलाई बचाउन सकिएन । हामीले बिरामी र कुरुवाको सबै समस्या समाधान गरेर मात्र अस्पतालबाट बाहिर जाने परिकल्पना गरेका थियौँ । हामीले बिरामीलाई बिहान ८ बजे नास्ता, ११ बजेसम्म खाना र २ बजे नास्ता अनि ६ बजे खाना सँगै अन्य खाने कुराहरू बेडमा नै लगेर उपलब्ध गराउने गरेका थियौँ । अधिकांश घाइतेहरू उपचारपछि निको भएर घर फर्किदा हामीले गरेको सेवा सबैका लागि प्रशंसायोग्य भएको थियो ।

प्रकाशित मितिः   २१ पुष २०८०, शनिबार ०७:५५