तरकारीले बजार नपाउँदा किसान चिन्तित
सुर्खेत: तरकारीले बजार नपाएपछि सुर्खेतका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । २७ वर्षदेखि तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का प्रेमबहादुर चर्मकारले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताए । उनले २५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । प्रतिकिलो ५० सम्ममा बेच्दै आएको टमाटर एक्कासी भाउ घटेर प्रतिकिलो २५ पुगेपछि टिप्नै छाडेको उनले बताए । ‘६÷७ क्विन्टल टमाटर बारीमै नटिपेर कुहिन सुरु गरेको छ’ चर्मकारले भने, ‘बजारको कुनै टुँगो नै छैन ।’ मागभन्दा बढी तरकारी उत्पादन भएपछि तरकारी खपत हुँदैन र किसान घाटामा पर्छन् ।’
भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ । ‘मान्छेले सबैभन्दा सजिलो तरकारीखेती हो भने पनि खेती गर्दाको लगानी, दुःख, कठिनाइ धेरै हुने गर्छ । जुन अरु खेतीमा छैन’ उनले भने । उनले बारीमा लगाएको काउलीको मूल्य ३० प्रतिकिलो पनि नपाएको गुनासो गरे । बारीमा उत्पादन भएको बन्दा ११ रूपैयाँमा बेच्न बाध्य भएको उनले बताए । अघिल्लो सिजनमा काउली प्रतिकिलो १० र बन्दा प्रतिकिलो सात रूपैयाँमा बेचेको थिए । अहिले काट्न ढिला हुँदा बन्दा बारीमै कुहिन थालेको उनको भनाइ छ । ‘उपभोक्ताले काउली किनेर खाँदा प्रतिकिलो ४० सम्म पर्न गए पनि हामीले बजार पाएको छैनौँ । हामीले बेच्दा घाटा खाएर बेच्नुपरेको छ,’ उनले भने, ‘किसानले प्रतिकेजी मूल्य ३० मात्रै पाउने हो भने पनि लगानी उठ्न सक्छ र बारीमा तरकारी पनि कुहिँदैन ।’
सरकारले समयमा नै अनुदानमा रासायनिक मल नदिनु, नगरपालिकाले किसानको खेतबारी समयसमयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनुलगायत कारणले किसान समस्यामा परेका उनले बताए । सरकारले न्यूनतम् समर्थन मूल्य उपलब्ध नगराउँदा पनि समस्या भइरहेको किसानहरूको गुनासो छ । तरकारी खेतीमा निकै समस्या भएको भन्दै उनले जग्गाको भाडा बुझाउन नसक्दा जग्गासमेत छाड्नुपर्ने बाध्यता रहेको बताए । चर्मकारले आफ्नो बारीमा उत्पादन भएको काउली, बन्दा, टमाटर, सिमी र मूला बिक्री नभएको बताए । साढे सात लाखबाट व्यवसाय सुरु गरेका उनले व्यवसाय बढाएर १७ लाखसम्म पु¥याएका छन् । आम्दानी सोचेजस्तो नभएको उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ की सुशीला खड्काले जंगली जनावरले तरकारी बाली नास गर्ने गरेको बताइन् । उनले १२ वर्षदेखि तरकारी खेती गर्दै आएकी छन् । ‘चार कट्ठामा लगाएको काउली, आलु, बन्दा, टमाटर र प्याज समेत जंगली जनावर जरायोले सखाप पारेको छ ।’ खुल्ला बारीमा लगाएको तरकारी उत्पादन राम्रो भएपनि जंगली जनावरले हैरानी दिँदा समस्या भइरहेको उनले बताइन् । एकातर्फ बजार र मूल्यको समस्या छ भने अकोतर्फ जंगली जनावर जरायोले तरकारी बाली खाइदिने हुँदा समस्या भएको खड्काले बताइन् । रातीको समयमा खुल्ला बारीमा लगाएको तरकारी जरायोले सखाप पारेको छ । वार्षिक दुई लाखसम्म आम्दानी गर्ने भएपनि यो वर्ष जरायोले तरकारी सखाप पारेको उनले सुनाइन् ।
सोही वडाकी टिका वलीले तरकारीको बिक्रीले नै घरखर्च टार्ने गरेको र अहिले आम्दानी नभएपछि मर्कामा परेको बताइन् । उनले पनि सात कठ्ठा जग्गामा तरकारी खेती गरेकी छन् । यतिखेर काउली, बन्दा, मूला, आलु र सागलगायतका तरकारी उनको बारीमा छन् । जंगली जनावरको हैरानीले तरकारी खेती नै छोड्नुपर्ने अवस्था आएको उनले बताइन् । जनावरबाट बचाउन नगरपालिकासँग टनेलको माग गरेपनि सुनुवाइ नभएको उनको भनाइ छ ।
यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजारको अनिश्चितता हटाउँदै कृषिमा लगानी बढाउन जोड दिएको छ । नगरपालिकाले कृषिजन्य बस्तुको बजारीकरणमा देखिएका समस्या समाधान गरी कृषिमा सरकारी तथा निजी क्षेत्रबाट लगानी बढाउनुपर्ने निश्कर्ष निकालेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । शनिवार ‘बजारको अनिश्चितता, कृषि लगानीमा जोखिम’ सम्बन्धी वीरेन्द्रनगरमा भएको संवाद कार्यक्रमका ढकालले यस्तो बताएकी हुन् ।
कृषि तथा पशुजन्य बस्तुको बजारीकरणमा देखिएका समस्या क्रमश सुधार गर्दै लैजाने पालिकाले योजना बनाएको उनको भनाइ छ । यस्तै कृषिमा उत्साहीत हुनेगरी लगानी गर्ने वातावरण नगरपालिकाले सिर्जना गर्नेछ । ढकालले किसान परिचयपत्र वितरणबारे सरोकारवालासँग थप छलफल गरी अघि बढ्ने बताइन् । बजार अनिश्चितता हटाएर कृषिमा लगानी बढाउने वातावरण सबै क्षेत्रबाट सीर्जना गर्न आवश्यक रहेको भन्दै नगपालिका पनि यसमा गम्भिर भएर लाग्ने उनले प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘एकातिर गरिबी न्यूनिकरण लक्षित विशेष कृषि कार्यक्रम संचालन गर्न आवश्यक छ । पालिकाले किसानको बजार मूल्य सुनिश्चित गर्न तर्फ ध्यान दिएको छ ।’
साझा बिसौनी ।