प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

सुुर्खेत: प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ललितपुरको बालकुमारिमा दुई युवाको मृत्यु भएपछि सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ । प्रधानमन्त्री पुषपकमल दाहालसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले नाराबाजीसहित सडकमा टायर बालेर विरोध जनाएका छन् । सरकारको कार्यशैलीले देशमै सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग उनीहरूको छ । ‘युवा विद्रोह’ नाम दिइएको विरोध प्रर्दशन मृतकहरूले न्याय नपाएसम्म जारी रहने जनाइएको छ ।

कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै शुक्रवार युवाहरूले गरेको प्रहदर्शनमा प्रहरीले लाठीका साथै गोली प्रहार गरेको थियो । जसमा परेर दैलेखका २३ वर्षीय सुजन राउतसहित अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

यसैबीच ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रूपैयाँ राहत दिने भएको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन र अछामका वीरेन्द्रको परिवारलाई प्रति परिवार १० लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । मन्त्री शर्माका अनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णयसमेत गरेको छ ।

घटनापछि शुक्रवारै सरकारले सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

प्रकाशित मितिः   १५ पुष २०८०, आईतवार ०५:०१