जगदुल्ला जलविद्युतको इआइए स्वीकृत

सुर्खेत: विद्युत विकास विभागले डोल्पा जिल्लामा निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएको छ । ईआईए स्वीकृत भएसँगै आयोजना निर्माणको काम अघि बढेको छ ।

एक सय ६ मेगावाटको अर्धजलाशययुक्त जलविद्युत आयोजनाले अबको एक हप्तामा उत्पादन अनुमतिपत्र पाउनेछ । विभागले आयोजनाको प्रबन्धक जगदुल्ला हाइड्रोपावर कम्पनीको नाममा उत्पादन अनुमतिपत्र दिन लागेको हो । विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली–२०५० को नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी नियम १६ मा भएको व्यवस्था बमोजिम प्रबन्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिइनेछ । अबको एकहप्तामा उत्पादन अनुमतिपत्र उपलब्ध हुने जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक सञ्जय सापकोटाले बताए । ‘विभागले पत्र लेखेर एकहप्तामा अनुमतिपत्र उपलब्ध गराउने जानकारी गराएको छ’ उनले भने, ‘त्यसका लागि सबै कागजपत्रको काम सकिएको छ ।’

अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा आवासगृह निर्माणको काम भइरहेको छ । अब आयोजनाको संरचना निर्माणको काम सुरु गरी २०८६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख सापकोटाले बताए । २०७८ सालमा नै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सम्पन्न भएको थियो । डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका हुँदै बग्ने जगदुल्ला नदीमा निर्माण हुने आयोजनाबाट एक सय ६ मेगावाट विद्युत उत्पादन हुने जनाइएको छ ।

आयोजनाको विद्युत उत्पादन गृह मुड्केचुला गाउँपालिका–७ इलमा निर्माण हुनेछ । जगदुल्ला गाउँपालिका वडा नं. १ हुरीकोटमा २० मिटरको जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत् विद्युत गृहमा पानी खसालिने छ । सुरुङ ६ दशमलव एक किलोमिटर लामो हुनेछ । यसका साथै तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत उत्पादन गृह निर्माणसमेत गरिने निर्देशक सापकोटाले जानकारी दिए ।

विद्युतगृह सडक खण्डमा डेढ किलोमिटर ब्लास्टिङ कार्य सुरु भएको आयोजनाले जनाएको छ । जलविद्युत आयोजना निर्माण कार्यलाई लक्षित गरी त्रिवेणीदेखि हार्डकटिङको काम सुरु गरिएको जनाइएको हो । त्रिवेणीदेखि हाइड्रोको पावर स्टेसन रहने ईल गाउँसम्म बीचबीच भागमा सडक निर्माण यस अघिनै भइसकेको छ । त्रिवेणीदेखि ईलसम्म विभिन्न स्थानमा कडा चटान भएका कारण ब्लास्टिङको लागि विभिन्न प्रक्रिया पूरा गरी गत मंगलवारदेखि काम सुरु भएको निर्देशक सापकोटाले जानकारी दिए ।

सापकोटाकाका अनुसार जगदुल्ला हाइड्रोपावरसम्म सडक मार्गको छोटो पहुँचका लागि भिर ब्लास्टिङको काम भइरहेको छ । साथै मुड्केचुला र जगदुल्ला गाउँपालिकाको विभिन्न नौ वटा स्थानमा बेलिब्रिज निर्माणको लागि स्थानीय सरकारसँग समन्वय गरी काम सुरु गरिने उनले बताए । त्रिवेणीदेखि जगदुल्ला हाइड्रोपावरसम्मको ब्लास्टिङको जिम्मा शेर्पा हाइड्रो निर्माण कम्पनीले लिएको छ । जलविद्युत आयोजनाको पूर्व तयारीका कामहरू भइरहेका छन् ।

आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट स्वीकृत र विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को काम सम्पन्न गरेको छ । आयोजनाका निर्देशक सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए । उनले दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि उत्पादन अनुमतिको अन्तिम चरणमा पुगेको जानकारी दिए ।

अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । आयोजनाको विद्युत खरिद बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए । आयोजना निर्माण गर्न विभिन्न निकायले सेयर लगानी गर्ने बताएको छ । सेयर लगानीकर्तामा विद्युत उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको दश प्रतिशत, नेपाल विद्युत प्राधिकरणको नौ प्रतिशत रहेको छ । यस्तै, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत र प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्लाको एक प्रतिशत सेयर रहेको छ । बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणका लागि भन्दै सबैका लागि खुला गरिने बताइएको छ ।

२० अर्ब लगानीमा निर्माण हुने आयोजनाबाट दैनिक एक करोड २० लाख आम्दानी हुने कम्पनीले जनाएको छ । आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै २९ करोड राजस्व उपलब्ध हुने बताइएको छ । प्रदेश सरकारले ११ लाख ७१ हजार पाँच सय कित्ता सेयर खरिद गरेवापत ११ करोड ७१ लाख ५० हजार रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई अघिल्लो वर्ष भुक्तानी गरिसकेको छ ।

प्रकाशित मितिः   ८ पुष २०८०, आईतवार ०५:०५