प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता

सुर्खेत: कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट स्वास्थ्य उपचारको सेवा लिँदा अनलाइनबाटै नाम दर्ता गर्न सकिने भएको छ । पछिल्लो समय सेवाग्राहीको चाप बढेपछि अस्पतालले अनलाइनबाट नाम दर्ता सेवाको सुरुवात गरेको हो ।

अब अनलाइन सेवा अनुसार कुनै पनि बिरामी वा सेवाग्राहीले नाम दर्ताका लागि बिहानै ९ बजे नै अस्पताल पुग्न नपर्ने अस्पतालका निर्देशक प्रा.डा. डाक्टर डम्बर खड्काले जनाए । अनलाइन सेवा लिनका लागि अस्पतालको वेबसाइटमा दिइएको निर्देशन बमोजिम विवरण भर्नुपर्दछ । वेबसाइटमा गएपछि ‘बुक गर्नुहोस्’ मा क्लिक गर्नुपर्छ । त्यसपछि कुन सेवा लिने हो त्यो छनोट गर्नुपर्ने हुन्छ ।

सेवाग्राहीले चेकजाँच गर्न चाहेको डाक्टर, मिति र बिहान ७, ८ र ९ बजेको समय तालिका देखाउँछ । यीमध्ये समयमा क्लिक गरेपछि ‘प्रोसेस टू बुक’ भन्नेमा क्लिक गर्नुपर्दछ । यो प्रक्रिया पूरा भएपछि ‘लगइन’ र ‘बुक अप्वाइमेन्ट’ देखाउँछ ।
‘बुक अप्वाइमेन्ट’ मा क्लिक गरेपछि आफ्नो सबै विवरण भर्नुपर्दछ । विवरण भरेपछि ‘बुक’ भएको देखाउँछ । त्यही बुक गरिएको स्क्रिनसट वा प्रिन्ट गरेर अस्पतालबाट बिरामी पुर्जा लिन सकिन्छ ।

अनलाईनमार्फत नाम दर्ताको टिकट बिहान ८ बजेदेखि १२ बजेसम्म सेवाग्राहीले लिन सक्नेछन् । अनलाइनबाट नाम दर्ता गरेका सेवाग्राहीका लागि अस्पतालको नाम दर्ता काउन्टर अर्थात् कोठा नम्बर १ बाट लिन सकिनेछ व्यवस्था मिलाइएको छ ।

प्रकाशित मितिः   ६ पुष २०८०, शुक्रबार ०५:०१