पालिकामा पुग्यो अस्थायी आवास निर्माणको रकम

सुर्खेत: भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माणका लागि एक अर्बभन्दा बढी रकम स्थानीय तहमा पठाइएको छ । जाजरकोट, रुकुमपश्चिमसहित पाँच जिल्लाका प्रभावित पालिकाहरूमा एक अर्ब चार करोड आठ लाख २५ हजार रूपैयाँ पठाइएको हो ।

मन्त्रिपरिषद् र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमा रकम पठाइएको छ । जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानका लागि एक अर्ब ४१ करोड रकम निकासा भएको थियो । त्यसमध्येबाट ५९ हजार एक सय ६२ जना लाभग्राहीका लागि एक अर्ब चार करोड आठ लाख २५ हजार स्थानीय तहको खातामा पुगिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।

स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार एक सय ५३ ले अस्थायी आवास निमाण गर्ने सम्झौता गरेका छन् । सम्झौता गरेका यी लाभग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराइसकेको प्राधिकरणको भनाइ छ । रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुमपश्चिममा दुई हजार चार सय २३ र सल्यानमा ४० गरी दुई हजार चार सय ६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बसोबास गर्न थालेका छन् । पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ता बापत लाग्ने रकम दुई अर्ब ६० करोड ५० लाख रूपैयाँ थप निकासा गरिदिन सम्बन्धित जिल्लाहरूबाट माग भइ आएको प्राधिकरणले जानकारी दिएको छ ।

निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको संख्याका आधारमा सम्बन्धित जिल्लामार्फत स्थानीय तहहरूमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रकम उपलब्ध गराउने प्रवक्ता ध्रुव बहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मितिः   २८ मंसिर २०८०, बिहीबार १०:२७