राष्ट्रिय कृषि गणना–२०७८

कृषक परिवार बढ्यो, क्षेत्रफल घट्यो

सुर्खेत: कर्णाली प्रदेशमा कृषक परिवारको संख्या बढे पनि कृषि गरिने जमिनको क्षेत्रफल भने घटेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार प्रदेशमा कृषकको संख्या बढेको हो ।

बुधवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय नतिजा सार्वजनिक छ । जसअनुसार कर्णालीमा कृषि गरिरहेको परिवार संख्या तीन लाख दुई हजार ६ सय ४० छ । यो कूल परिवार संख्याको ८२ दशमलव ६३ प्रतिशत हो । उनीहरूले एक लाख १७ हजार चार सय ११ हेक्टर जमिनमा कृषि गरिरहेका छन् ।

प्रदेशमा सबैभन्दा बढी सुर्खेत जिल्लामा ६२ हजार पाँच सय २६ कृषक परिवारले २४ हजार एक सय ३९ हेक्टरमा कृषि कार्य गर्ने गरेका छन् । जिल्लामा पाँच हजार नौ सय ५५ कृषक परिवार संख्या बढेको छ भने तीन हजार एक सय दुई हेक्टर क्षेत्रफल घटेको छ । सुर्खेत जिल्लामा ६३ दशमलव ८७ प्रतिशत कृषक परिवार रहेको गणनाले देखाएको छ ।

 

पर्याप्त छैन सिँचाइ सुविधा

कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भएपनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्यांकले कूल सिँचित क्षेत्रफल २८ दशमलव आठ प्रतिशत मात्रै देखिएको छ । सुर्खेतमा ४५ दशमलव पाँच प्रतिशत रहेको देखिन्छ । प्रदेशभर ५६ दशमलव आठ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् ।

कृषि गणनाअनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार दुई सय ४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ ।

सुर्खेत जिल्लामा नौ हजार चार सय ३२ हेक्टर धान बाली, आठ हजार सात सय ५५ हेक्टरमा मकै बाली र ११ हजार तीन सय ४१ हेक्टर क्षेक्रफलमा गहुँ बाली लगाउने गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले दिएको जानकारीअनुसार कर्णालीमा एक दशमलव ८० प्रतिशत कृषकले वर्षमा सरदर दुई बाली लगाउने गरेका छन् भने सुर्खेत जिल्लामा एक दशमलव ९७ प्रतिशतले वर्षमा दुई बाली लगाउँछन् ।

 

फलफूल क्षेत्र फस्टाउँदै

प्रदेशमा पछिल्लो समय फलफूल क्षेत्र विस्तार भएको छ । कार्कीका अनुसार तीन सय १२ हेक्टरमा आँप, चार सय ७२ हेक्टरमा केरा, आठ सय ९२ हेक्टरमा सुन्तला र दुई हजार एक सय ९७ हेक्टरमा स्याउ लगाइएको छ ।

सुर्खेतमा आँप बगैंचा सात हेक्टरमा छ । ९८ हेक्टरमा केरा, २८ हेक्टरमा सुन्तला र ३२ हेक्टरमा कागतीको क्षेत्र विस्तार भएको छ । यसअघि आँप एक सय ३७ हेक्टर, केरा एक ८५ हेक्टर, सुन्तला ३२ हेक्टर र कागती ३२ हेक्टरमा लगाउने गरिएको थियो ।

 

बिमा गर्ने र अनुदान लिने न्यून

कर्णाली प्रदेशमा तीन दशमलव पाँच प्रतिशत कृषक परिवारले कृषि बिमा गरेका छन् भने सुर्खेतमा दुई दशमलव एक प्रतिशतले कृषि बिमा गरेको पाइएको छ । सरकारी अनुदान पाउने कृषकको संख्या पनि न्यून देखिएको छ । प्रदेशभर चार दशमलव चार प्रतिशतले मात्र सरकारी अनुदान लिएका छन् ।

सुर्खेत जिल्लामा चार दशमलव पाँच प्रतिशतले सरकारी अनुदान प्राप्त गरेका छन् । प्रदेशमा मुख्य कृषकमा पुरुषको हिस्सा ६५ दशमलव ६ र महिलाको ३४ दशमलव चार प्रतिशत रहेको छ । यसैगरी सुर्खेतमा पुरुष ५३ दशमलव एक र महिला ४६ दशमलव नौ प्रतिशत रहेको पाइएको छ ।

 

अधिकांश उत्पादन घरायसी प्रयोगमा

प्रदेशभर कृषिबाट भएको सबै उत्पादन घरायसी उपभोगका लागि प्रयोग गर्ने कृषक परिवार ८२ दशमलव दुई प्रतिशत देखिएका छन् । एक प्रतिशतले मात्रै बिक्री गर्ने गरेका छन् । मुख्यतयाः घरायसी उपभोग र केही बिक्रीको लागि हो भनी बताउने १५ दशमलव ६ प्रतिशत र मुख्यतयाः बिक्री र केही घरायसी उपभोगका लागि हो भनी बताउने कृषकको संख्या दुई प्रतिशत रहेको देखिएको छ ।

यो गणनाले प्रदेशभर ८४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषि कार्य रहेको देखाएको छ । त्यसमध्ये ३० दशमलव पाँच प्रतिशतले मात्र कृषि कार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् । सुर्खेतमा ७७ प्रतिशत परिवारको मुख्य आम्दानीको स्रोत कृषि देखिन्छ । ४३ दशमलव चार प्रतिशतले वर्षभरी खान पुग्ने बताएका छन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले राष्ट्रिय कृषि गणना–२०७८ को तथ्यांकले कृषि क्षेत्रमा काम गर्ने आधार तयार गरेको बताउँछन् । नयाँ योजना निर्माण गर्न, बजेट विनियोजन गर्न, कृषक परिवारको संख्या पत्ता लगाउन र सोहीबमोजिम नीति तथा कार्यक्रम निर्माण गर्न सहज हुने उनको भनाइ छ । प्राप्त तथ्यांकलाई आधार मानेर योजना बनाउनु पर्नेमा मन्त्री शर्माले जोड दिए ।

सरकारले २०१८ सालदेखि हरेक दश–दश वर्षमा कृषि गणना गर्दै आएको छ । पछिल्लो पटक २०७८ चैत्र १ गतेदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्यांक संकलन कार्य गरिएको थियो । वैज्ञानिक विधिबाट तीन लाख ३० हजार एक सय १२ कृषक परिवार छनोट गरी प्रश्नावलीमार्फत तथ्यांक संकलन गरिएको हो ।

प्रकाशित मितिः   २८ मंसिर २०८०, बिहीबार १०:३०