सोती घटनाको अन्तिम फैसला: २४ जनालाई जन्मकैद
सुर्खेत: जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको ‘सोती घटना’ मा संलग्न २४ जनालाई जन्मकैदको सजाय हुने भएको छ । मंगलवार मुद्दाको अन्तिम सुनुवाई सकिएसँगै जिल्ला अदालत रूकुमपश्चिमले वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको फैसला गरेको हो । उनीहरूलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।
यस्तै, नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको कैद तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत (रूकुम–पश्चिम) का स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँ पुगेका थिए । त्यहीक्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो । उनीहरूका शव भेरी नदीमा भेटिएका थिए ।
घटनापछि नवराजका बुवा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । ३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग थियो भने एक जनालाई मतियार बनेको अभियोग थियो । किशोरी (नवराजकी प्रेमिका) की आमालाई धरौटीमा छोडिएको थियो । अन्य १० अभियुक्त सामान्य तारेखमा छुटेका थिए । बाँकी २३ जना पुर्पक्षका लागि कारागारमा थिए ।
जिल्ला अदालत रूकुमपश्चिममा न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतवारदेखि तीन दिनसम्म अन्तिम सुनुवाइ चलेको थियो । जसमा २३ जना वकिलहरूले बहस गरेका छन् । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद अधिकारीले सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका थिए भने पाँच जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका हुन् । अन्तिम सुनुवाइमा बहसका लागि २४ जना वकिलले नाम दर्ता गराएका थिए । तीमध्ये एक जनाले बहस नगरेको उनले जानकारी दिए । २४ मध्ये १७ जना वादीतर्फका र सात जना प्रतिवादीतर्फका थिए ।
घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानविन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रूकुमपश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दाको फैसला आएको हो ।
प्रकाशित मितिः २० मंसिर २०८०, बुधबार ११:२२
साझा बिसौनी ।