पढाइ प्रभावित
भूकम्पले जाजरकोटमा ठूलो क्षति निम्त्यायो । विद्यालयका भवनहरू पनि भत्किए । कैयन् विद्यालय भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आंशीक रूपमा भत्किएका छन् । यसरी भवनमा क्षति हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । भूकम्प गएको एक महिना बितिसक्दासम्म पनि पढाइ सञ्चालन हुन सकेको छैन, विद्यालय ठप्प छन् । कतिपय विद्यालयले भने अस्थायी भएपनि सिकाइ केन्द्र बनाएर पठनपाठन अगाडि बढाएका छन् । तर अझै पनि धेरै विद्यालयहरूसँग अस्थायी सिकाइ केन्द्रसमेत नहुँदा पढाइ सुरु हुन सकेको छैन । भूकम्पका कारण विद्यालयमा भएको क्षतिले विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
भेरी नगरपालिका वडा नं. १ मा रहेको दिपेन्द्र प्राथमिक विद्यालय रावत गाउँमा एक महिनादेखि पढाइ ठप्प छ । कार्तिक १७ गते गएको भूकम्पका कारण विद्यालय भवनहरूमा क्षति पुगेपछि पठनपाठन प्रभावित भएको हो । त्यसयता विद्यालय पुनः सञ्चालनमा आउन सकेको छैन । अस्थायी सिकाइ केन्द्र पनि छैन । शिक्षा विकास तथा समन्वय इकाईसँग अस्थायी सिकाइ केन्द्र निर्माण गरिदिन अनुरोध गरेपनि सुनुवाई भएको छैन । अर्कोतिर चिसो मौसमका कारण खुला चौरमा पठनपाठन सुरु गर्न सम्भव नहुँदा थप समस्या भएको छ विद्यालयमा पूर्वाधार अभाव र आवश्यक त्रिपाल पनि नहुँदा पठनपाठन सञ्चालन गर्न समस्या भएको हो । यस्तै समस्या अन्य थुप्रै विद्यालयहरूले पनि झेलिरहेका छन् । जाजरकोटका कतिपय विद्यालय सञ्चालन हुन सकेका छैनन् भने कतिपय विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी नै नआउने गरेको पाइएको छ । भेरी नगरपालिकाको वडा नं. १ मै रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालय सञ्चालन भइरहेको छ । भूकम्पले भवनहरू क्षतिग्रस्त बनाए पनि न्यूनतम् पूर्वाधार जुटाउँदै पठनपाठन सञ्चालन गरिएको हो । तर विद्यार्थीको ठूलो संख्या विद्यालय नै आउँदैनन् । हिजोआज आधाभन्दा कम मात्र विद्यार्थी मात्रै नियमित विद्यालय पुग्ने गरेका छन् । अनुकूल वातावरण नहुनु, पढाइप्रति ध्यान नजानु, धेरै बालबालिका विद्यालय क्षेत्रभन्दा टाढा रहनुजस्ता समस्याले उनीहरू विद्यालयमा नआएको बताइएको छ ।
विद्यालय भवनमा भूकम्पले क्षति पु¥याएपछि पठनपाठन सञ्चालन गर्न ठूलो संख्यामा अस्थायी सिकाइ केन्द्र निर्माण गर्नुपर्ने भएको छ । कतिपय विद्यालयमा अस्थायी सिकाइ केन्द्र स्थापना गरिसकेको भएपनि अझै साढे चार सय केन्द्र आवश्यक पर्ने देखिएको छ । केही अस्थायी सिकाइ केन्द्र बन्दै छन् । आंशिक क्षति पुगेका कक्षाकोठामा पनि विद्यार्थी राखेर पढाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा तत्कालका लागि आवश्यक अस्थायी केन्द्र बनाएर पनि पठनपाठन नियमित गराउनेतर्फ ध्यान दिन जरुरी देखिन्छ ।
प्रकाशित मितिः २० मंसिर २०८०, बुधबार ११:२३
सम्पादकीय ।